काठमाडौं- नेपालको होटल तथा रेष्टुरेन्ट क्षेत्रको वास्तविक अवस्था पहिचान गर्ने उद्देश्यले नेपालमा दुई दशकपछि राष्ट्रिय सर्वेक्षण भएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले गरेको सर्वेक्षणले नेपालमा होटल क्षेत्रको अवस्थाका बारेमा तथ्यांक प्रकाशन गरेको छ। राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० को प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको सङ्ख्या एक लाख ४२ हजार दुई सय २३ छ।
विस २०६० पछि यस्तो सर्वेक्षण गरिएको हो। तर पहिलेको तुलनामा यसको क्षेत्रलाई फराकिलो बनाइएको कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी तथा प्रवक्ता डा हेमराज रेग्मीले जानकारी दिए।
पहिले होटल तथा रिसोर्टसँगै सीमित क्षेत्र भएपनि अहिले दायरा फराकिलो बनाइएको उनले जानकारी दिए। होटल तथा रेष्टुरेन्ट क्षेत्र व्यवस्थित र संस्थागत विकास अझै परिपक्क नभएको तथ्यांकबाट देखिएको छ।
अधिकांश व्यवसयामा साना प्रकृतिका, विस्तार र परिष्कृतभन्दा निरन्तरतामा विश्वास गर्ने धेरै देखिएका छन्। यो क्षेत्रमा रोजगारी पाउनेभन्दा रोजगारी दिनेको संख्या धेरै रहेको छ। नेपालको होटल क्षेत्र स्वरोजगारमूलक देखिएको छ।
१ लाख ४२ हजार २२३ व्यवसायमा १ लाख ६ हजार ४५९ जनाले रोजगारी पाएका छन् भने २ लाख ८१ हजार २८८ जना स्वरोजगार सञ्चालक रहेका छन्।
अर्कोतिर यी होटल तथा रेष्टुरेन्ट अधिकांश दर्ता भएका छैनन्। ठूला र तारे होटल संघीय सरकारको विभागमा दर्ता हुने भएपनि त्यस तलका व्यवसाय बिना दर्ता सञ्चालन भइरहेका छन्। बागमती प्रदेशमै यस्ता व्यवसाय बिना दर्ता सञ्चालन भएका छन्।
स्वरोजगारमूलक भएकाले बैंकिङ तथा अन्य स्रोत आवश्यक नपर्ने भएकाले बिना दर्ता सञ्चालन हुनेहरूको अनुपात अझै उच्च देखिएको छ।
नेपालका कुल व्यवसायमध्ये ३६.९ प्रतिशत बिना दर्ता सञ्चालन भइरहेका छन्। बागमती प्रदेशमै ४२ प्रतिशत विना दर्ता सञ्चालन छन्।
वर्षमा २० अर्ब तलब दिने यो क्षेत्रको खुद पुँजी निर्माण ५ खर्ब ४३ अर्ब पुगेको छ। बर्सेनि १ खर्ब ९ अर्बको मूल्यअभिवृद्धि गर्ने यो क्षेत्रमा प्रतिव्यक्ति अभिवृद्धि पनि २ लाख माथि रहेको छ।
१ रुपैयाँ लगानी गर्दा ६६ पैसा आम्दानी हुने होटल क्षेत्रको दीर्घकालीन लगानीमा भने २० पैसा प्रतिफल आउने गरेको छ।
प्रतिव्यक्ति मूलअभिवृद्धि र प्रतिफल अनुपात होटल क्षेत्रमा निकै आकर्षक भएको रेग्मीको भनाइ छ। समग्र अर्थतन्त्र खासै किफायती नभएको अवस्थामा होटल क्षेत्रको यो आँकडा राम्रो भएको उनको भनाइ छ।