म्याग्दी- अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ बेँसीमा एक करोड रूपैयाँभन्दा बढीको लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको छ।
ब्रिटिस गोर्खा वेयलफेयर आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा एक करोड आठ लाख ३१ हजार सातसय ५६ रूपैयाँको लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको हो।
आयोजनाबाट नारच्याङ बेँसीगाउँका एकसय ९० परिवार लाभान्वित हुने अन्नपूर्ण गाउँपालिका-४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताए।
विद्यालय, स्वास्थ्यचौकी, युवा क्लब, आमा समूह, मन्दिर र छात्रावासमा पनि धारा जडान गरिने जनाइएको छ। गोर्खा वेयलफेयरको ८७ लाख ६५ हजार ६ सय ७२ रूपैयाँ अनुदान रहने आयोजना निर्माणमा उपभोक्ताले २० लाख ६६ हजार ८३ रूपैयाँ बराबरको श्रमदान गर्नुपर्नेछ।
आगामी चैत महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित मुहान, ट्यांकी, धारा र पाइपलाइनको काम तीव्र गतिमा भइरहेको छ। रासस