मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

उतारचढावबीच सेयर बजारमा सामान्य वृद्धि, ३ अर्ब ५९ करोड रुपैयाँको कारोबार

बुधबार, पुस १७ २०८१
उतारचढावबीच सेयर बजारमा सामान्य वृद्धि, ३ अर्ब ५९ करोड रुपैयाँको कारोबार

काठमाडौं- उतारचढावबीच ओरालोतिर नै लागिरहेको सेयर बजार आज बुधबारको कारोबारमा सामान्य वृद्धितर्फ लागेको छ।  

यो साता पहिलो कारोबारमा आइतबार २१.१२ अंकले घटेर २६०९.५८ बिन्दुमा झरेको बजार सोमबार बन्द रहेको थियो। मंगलबार ३३.०८ अंकले घटेर २५७६ बिन्दुमा आइपुगेको बजार बुधबार केही बढेको हो। 

बुधबार ५.१० अंकले बढेर बजार २५८१.६० बिन्दुमा पुगेको छ। ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ। १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको मूल्य घटेको छ। ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा लगानीकर्ता विश्वस्त देखिन नसक्दा ओरालो यात्रा नै बढेको देखिन्छ। बजारले वृद्धिको साथ पाउने अवस्था रहे पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उचाइ समात्न समय लागेको विश्लेषकहरू बताउँछन्।  

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिरमा पनि पूरा हुन सकेन। पुस महिनामा पनि बजार उतारचढावकै अवस्थामा देखिएको छ। 

अहिले बजारको अवस्था यकिन आँकलन गर्न नसकिने भए पनि बजार वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहेको छ।


प्रकाशित : बुधबार, पुस १७ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend