शुक्रबार, माघ १८ गते २०८१    
शुक्रबार, माघ १८ २०८१
images
images

मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौं ल्याइँदै

images
बुधबार, पुस १७ २०८१
images
images
मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौं ल्याइँदै

तनहुँको आँबुखैरेनी गाउँपालिका मार्कीचोकमा ‘ग्याँस इन्सुलेटेड प्रणाली’ (जीआईएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको हो।

images
images

काठमाडौं- मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौं ल्याउने सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ।

images
images
images

तनहुँको आँबुखैरेनी गाउँपालिका मार्कीचोकमा ‘ग्याँस इन्सुलेटेड प्रणाली’ (जीआईएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको हो। त्यस्तै, मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मंगलबार विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो।

images

सबस्टेसन चार्ज गरिएसँगै कूल ८२ किलोमिटर मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मार्कीचोक सबस्टेसन सञ्चालनमा आएसँगै मर्स्याङ्दी नदी करिडोरका जलविद्युत् आयोजनाको विद्युत् २२० केभी प्रसारण लाइनबाट काठमाडौं उपत्यकामा ल्याउन पूर्वाधार संरचना बनेको बताए।

images
images
images

यसबाट देशको एकीकृत विद्युत् प्रणालीको ‘भोल्टेज’ सुधार भइ विद्युत् थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले मर्स्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माणाधीन मार्कीचोक-भरतपुर खण्ड सम्पन्न भएपछि विद्युत् भरतपुरतर्फ पनि पठाउन सकिने जानकारी दिए। मार्कीचोक-भरतपुर खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।

मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत प्रसारण लाइन र मार्कीचोक तथा काठमाडौंको मातातीर्थमा २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो। मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न गरी गत वैशाखदेखि सञ्चालनमा आइसकेको छ। दुवै सबस्टेसनमा १६०/१६० एमभिए क्षमताका दुई/दुई पावर ट्रान्सफर्मर राखिएका छन्। दुवै सबस्टेसनको क्षमता ३२०/३२० एमभिए रहेको प्राधिकरणले जनाएको छ।

मार्कीचोकबाट चन्द्रगिरि नगरपालिकाको बाडभञ्ज्याङसम्म मर्स्याङ्दी-काठमाडौं प्रसारणलाइन र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको त्रिशूली-काठमाडौं २२० केभी प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एकापसमा आबद्ध गरिएको छ। त्रिशूली र मर्स्याङ्दीका दुवै प्रसारण लाइनलाई बाडभञ्ज्याङबाट मल्टिसर्किट (चार सर्किट) मा आबद्ध गरी मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ।

मर्स्याङ्दी-काठमाडौं र त्रिशूली-काठमाडौं प्रसारण लाइनबाट आएको करिब एक/एक हजार मेगावाट विद्युत् बाडभञ्ज्याङमा आबद्ध भइ त्यहाँबाट करिब दुई हजार मेगावाट विद्युत् मल्टिसर्किट प्रसारण लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित हुनेछ।

मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी २०७७ पुसमा चाइना मेसेनरी इन्जिनियरिङ कर्पोरेसनसँग नयाँ ठेक्का सम्झौता गरी बाँकी निर्माण अगाडि बढाइएको थियो। दुवै सबस्टेसनको अनुमानित लागत करिब रु सवा दुई अर्ब रहेको आयोजना प्रमुख लक्ष्मण फुँयालले उल्लेख गरे।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन आयोजना सुरु गरिएको थियो। रासस


प्रकाशित : बुधबार, पुस १७ २०८११३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend