बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

चौरासी वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार

मंगलबार, पुस १६ २०८१
चौरासी वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार

डोरी, जाल, मुखौरी बनाउने सीप भएका छिमेकीलाई ती तयार गरेबापत रामस्वरुप एकसय रूपैयाँ दिन्छन्। फुर्सदमा उनी चाउचाउ, बिस्कुटलगायत प्लास्टिक संकलन गर्छन्।

कञ्चनपुर- चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जुँगा, झुत्रा पहिरन र साइकलको पछाडि रङ्गीचङ्गी आकर्षक डोरी। यही हुलियामा सखारै घरबाट निस्किन्छन्, वेदकोट नगरपालिका-१० दैजीका रामस्वरुप राना।

साइकलमा गाउँबस्ती डुल्दै डोरी बेचेर बेलुकी घर फर्कनु उनको दैनिकी हो। ८४ वर्षको वृद्ध उमेरमा पनि उनको जोसजाँगर युवावयमा भन्दा कम छैन। उनले फालिएका प्लास्टिक संकलन गरेर बनाइएका डोरी, जाल, मुखौरीलगायत बिक्री गरी जीविका चलाइरहेका छन्। 'छोराहरु बेरोजगार छन्। खेतीपाती गर्न जमिन छैन। बिहान बेलुका के खाउँ, भन्ने अवस्था छ,' उनले भने, 'डोरी बेचेरै पेट पालिएको छ।'

डोरी, जाल, मुखौरी बनाउने सीप भएका छिमेकीलाई ती तयार गरेबापत रामस्वरुप एकसय रूपैयाँ दिन्छन्। फुर्सदमा उनी चाउचाउ, बिस्कुटलगायत प्लास्टिक संकलन गर्छन्। भीमदत्त र बेदकोट नगरपालिकाका विभिन्न गाउँबस्ती साइकलमा डुलेर ती सामग्री बिक्री गर्छन्। उनका अनुसार दुईसय ५० रूपैयाँदेखि पाँचसय रूपैयाँसम्ममा ती सामग्री बिक्री हुन्छन्।

ग्रामीण क्षेत्रमा वनजंगलबाट पातपतिङ्गर ल्याउन जालको प्रयोग गरिन्छ। चिसोयाम भएकाले गोठका वस्तुभाउलाई न्यानो बनाउन जंगलबाट पात ल्याइने हुँदा जाल बिक्री भइरहेको छ,' उनले भने, 'आकारअनुसार फरक फरक दरमा बेच्छु। दैनिक दुई/तीनवटा बिक्री हुँदा गुजारा चल्छ।'

सानो आकारको जाल, मुखौरी दुईसय ५० रूपैयाँ र ठूलो आकारको पाँचसय रूपैयाँमा बिक्री हुने गर्छ। प्लास्टिकबाट निर्मित यस्ता घरायसी सामग्री टिकाउ हुने भएकाले किसानले रुचाउने गरेका छन्। रामस्वरुपका दुई छोरा छन्।

उनकी श्रीमती ५४ वर्षकै उमेरमा बितिन्। कोरोना महामारीपछि यो व्यापारमा लागेको उनी बताउँछन्। 'काम नगरी खान पुग्दैन। डोरीको व्यापारले जीवन धानिएको छ,' उनले भने, 'बुढेसकालमा काम गर्ने रहर त थिएन तर बाध्यता त्यस्तै आइलाग्यो।' रासस


प्रकाशित : मंगलबार, पुस १६ २०८११६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend