काठमाडौं- गएको साता पछिल्ला तीन कारोबारमा लगातार वृद्धितर्फ देखिएको सेयर बजार यो साता भने लगातार ओरालो लागेको छ।
यो साता पहिलो कारोबारमा आइतबार २१.१२ अंकले घटेर २६०९.५८ बिन्दुमा झरेको बजार दोस्रो कारोबार दिन मंगलबार ३३.०८ अंकले घटेर २५७६ बिन्दुमा आइपुगेको छ।
मंगलबार २८ कम्पनीको सेयर मूल्य बढ्दा ५ अर्ब ६७ करोड ४६ लाख रूपैयाँको कारोबार भएको छ। २ सय १३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीको सेयर मूल्यमा फेरबदल भएको छैन।
लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा लगानीकर्ता विश्वस्त देखिन नसक्दा ओरालो यात्रा नै बढेको देखिन्छ। बजारले वृद्धिको साथ पाउने अवस्था रहे पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उचाइ समात्न समय लागेको विश्लेषकहरू बताउँछन्।
अहिले बजारको अवस्था यकिन आकलन गर्न नसकिने भए पनि बजार वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहेको छ।
गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो।
असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिरमा पनि पूरा हुन सकेन। पुस महिनामा पनि बजार उतारचढावकै अवस्थामा छ।