बारा- भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म दोस्रो चरणको पाइपलाइन परियोजना निर्माण सम्पन्न भएसँगै नेपाल आयल निगमले पाइपलाइनबाटै नियमितरुपमा पेट्रोल र मट्टीतेल ल्याउने तयारी पूरा गरेको छ।
कोरोना माहामारीका कारण पाइपलाइनको दोस्रो परियोजना एक वर्ष ढिला हुन गएको थियो। अहिले दोस्रो परियोजना सम्पन्न भइ पाइपलाइनबाटै पेट्रोल र मट्टीतेल ल्याएर सफल परिक्षणसमेत गरिसकिएको नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए।
‘पाइपलाइनबाटै पेट्रोल र मट्टीतेल ल्याउन डिपोभित्र सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘आउने जनवरी महिनादेखि पेट्रोल र मट्टीतेल नियमितरुपमा भित्र्याउने लक्ष्य राखिएको छ।’
पाइपलाइनअन्तर्गत दोस्रो परियोजनाको उद्घाटन आउने जनवरी महिनामै हुने भनिए पनि मिति तय हुन नसकेको उनले बताए। परियोजना उद्घाटनको लागि सरकारलाई अनुरोध गरीसकिएको तर उद्घाटन मिति अहिलेसम्म तय हुन नसकेको उनले जानकारी दिए।
उनका अनुसार परीक्षण गर्न तत्कालका लागि पाइपलाइनबाटै पहिलो चरणमा ५ हजार ५ सय किलोलिटर पेट्रोल र एक हजार किलोलिटर मट्टीतेल ल्याइएको छ। पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको छ।

२०२५ जनवरीदेखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिए पनि उद्घाटन नभएकै कारण पेट्रोल र मट्टीतेल भित्र्याउने काम रोकिएको नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख आचार्यले बताए।
पाइपलाइन विस्तार परियोजनाअन्तर्गत अमलेखगञ्जस्थित प्रादेशिक डिपोमा चारवटा नयाँ ट्यांक निर्माण भएको छ। जसमा ५१ हजार किलोलिटरको दुईवटा र ४१ हजार किलोलिटर क्षमता भएको दुईवटा गरी चारवटा ट्यांक निर्माण गरिएको छ। जसमा तीनवटा ट्यांक पेट्रोल भण्डारण गर्न र एउटा डिजेल भण्डारण गर्न प्रयोग गरिने छ।
त्यससँगै दुईवटा ट्रान्समिक्स ट्यांकसमेत निर्माण भएको छ। यो योजनाअन्तर्गत डिपोभित्र दुई किलोमिटर नयाँ पाइपलाइन बिच्छयाइएको छ।
अहिले डिपोमा कुल २ करोड ५५ लाख ९३ हजार किलोलिटर डिजेल, एक करोड ७४ लाख ९८ हजार किलोलिटर पेट्रोल र २२ लाख ६० हजार किलोलिटर मट्टीतेल भण्डारण गर्न सक्नेगरी ट्यांक निर्माण भएको प्रादेशिक डिपो प्रमुख आचार्यले जानकारी दिए।

यसैगरी पेट्रोल ढुवानीका लागि चारवटा पूर्ण स्वचालित (लोडिङ वे-रिफिलर) पम्प हाउस र प्रयोगशालासमेत निर्माण गरिएको छ। यसअघि डिपोमा एउटा ट्यांकर लोड गर्न कम्तिमा ३० देखि ४० मिनेट समय लाग्थ्यो तर अब त्यो समयको समेत बचत हुने छ। अब २० मिनेटमै एउटा ट्यांकर लोड हुने छ।
उक्त परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने 'ओडब्ल्यूएस सिस्टम' तथा 'पीएमसीसी' कक्षसमेत निर्माण गरिएको छ। दोस्रो चरणको परियोजनाअन्तर्गतका संरचना ९९ करोड भारतीय रुपैयाँमा पूरा गरिएको आचार्यले जानकारी दिए।
सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्नेगरी लिखिता इन्फास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो। तर विभिन्न कारणले केही दिनअघिमात्र पाइपलाइन विस्तारको काम सकिएको प्रमुख आचार्यको भनाइ छ।
आगलागीजस्ता दुर्घटनाबाट जोगिन डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांकसमेत निर्माण गरिएको छ।

पाइपलाइन परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भइ २०७६ भदौ २५ गते देखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ। अब दोस्रो चरणको काम सम्पन्न भइसकेकाले आयोजनाको उद्घाटन भएलगतै पेट्रोल, डिजेल र मट्टीतेल गरी तीनवटै पेट्रोलियम पदार्थको नियमित आयात पाइपलाइनबाटै हुने छ।
मोतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडामा करिब ४० देखि ५० प्रतिशत बचत हुने, सवारी दुर्घटना र सीमा क्षेत्रमा हुँदै आएको सवारी जाम पनि हटेर जाने विश्वास लिइएको डिपो प्रमुख आचार्यले जानकारी दिए।
पाइपलाइनबाटै भित्रिएको पेट्रोलियम पदार्थ थानकोट, विराटनगर, नेपालगञ्ज, पोखरा, जनकपुरमा समेत आपूर्ति गरिने आचार्यले जानकारी दिए।
अमलेखगञ्ज डिपोबाट प्रतिदिन १५ सय किलोलिटर डिजेल, ५ सय किलोलिटर पेट्रोल र ८० किलोलिटर मट्टीतेल बिक्री हुँदै आएको छ।
तीन सय किलोलिटर क्षमता भएको पाइपलाइनलाई पूर्ण क्षमतामा सञ्चालन गरिएको छैन। अहिले एक सय ५० देखि २ सय किलोलिटर क्षमतामा मात्र पाइपलाइन सञ्चालन हुँदै आएको छ। डिजेल, पेट्रोल र मट्टीतेल गरी प्रतिदिन ६ हजार किलोलिटर इन्धन पाइपलाइनबाटै आयात गर्न सकिने छ।
भिडियो हेर्नुहोस् -