काठमाडौं- नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरु सञ्चालन गरेको छ। कम्पनीले विगतका आर्थिक वर्षहरुदेखि नै सामाजिक उत्तरदायित्वका पुराना कार्यक्रमहरुलाई निरन्तरता दिनुका साथै थप नयाँ कार्यहरु समेत गर्दै आएको जनाएको छ।
नेपाल टेलिकमले काठमाडौंको माइतीघरदेखि तिनकुनेसम्मको सडक खण्डमा हरियाली संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको र यसअन्तर्गत मौसमी फूलका बिरुवाहरु रोप्ने, रुखहरु तथा दुबो रोप्ने, गोडमेल गर्ने र काँटछाँट गर्नेलगायतका सुन्दरता अभिवृद्धि गर्ने क्रियाकलापहरु सञ्चालन गरिएको जनाएको छ।
यस्तै नेपालभरिका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा फर्निचर, कम्प्युटर, झोला, ट्रयाकसुटलगायतका विभिन्न भौतिक तथा शैक्षिक सामग्रीहरु उपलब्ध गराएको छ भने देशभरका २० जिल्लाका १/१ सरकारी र सामुदायिक विद्यालयमा महिला स्वास्थ्यमा सहयोग पुग्ने गरी महिला स्वास्थ्य सामग्री स्यानिटरी प्याड भेन्डिक मेसिन उपलब्ध गराइएको टेलिकमले छ।
वातावरण सरसफाइमा पनि टेलिकमले सक्रियता देखाएको छ। धार्मिक मठमन्दिर, पुरातात्विक एवम् पर्यटकीय स्थल, बसपार्क, सार्वजनिक पार्क तथा बगैँचा लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरुमा आवश्यकता बमोजिम डस्टबिन वितरण गरेको छ।
वृद्धाश्रम, बाल आश्रमलगायतका संरक्षणस्थलमा सहयोग पनि टेलिकमले गरेको छ। सातवटै प्रदेशका वृद्धाश्रम, बाल आश्रम, फरक क्षमता भएका व्यक्तिहरुलाई संरक्षण गर्ने संस्था तथा सामुदायिक केन्द्रहरुमा भोजन एवम् न्यानो कपडा र ब्ल्यांकेट सहयोग गरिएको टेलिकमले जनाएको छ।
नेपाल टेलिकमले नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पताललगायत अन्य सरकारी तथा सामुदायिक अस्पतालमा आउने बिरामीका कुरुवाहरुले आराम गर्न सहज होस् भन्ने उद्देश्यले बेड कम चेयर पनि उपलब्ध गराएको छ।
नेपाल टेलिकमले विद्यालयहरुमा पटनपाठन कार्य सहज होस् र विद्यार्थीले इन्टरनेटको सहज प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले एफटीटीएच सेवा पुगेका देशभरका विभिन्न १०० वटा सरकारी तथा सामुदायिक विद्यालयहरुमा ५० एमबीपीएस गतिको एफटीटीएच इन्टरनेट १ वर्ष सम्मका लागि निःशुल्क उपलब्ध गराएको छ। त्यसैगरी एफटीटीएच सेवा नपुगेका ७ वटै प्रदेशका विभिन्न ५० वटा सरकारी तथा सामुदायिक विद्यालयहरुमा १ वर्ष सम्मका लागि नमस्ते वाइफाइ (डब्लूबीबी) राउटरसहितको फोरजी इन्टरनेट प्याकेज निःशुल्क उपलब्ध गराएको जनाएको छ।
साथै सामाजिक उत्तरदायित्वअन्तर्गत टेलिकमले फरक क्षमता भएका व्यक्तिहरुलाई छुट्टै प्याकेजसहितको नि:शुल्क प्रिपेड सिमकार्ड वितरण, विभिन्न पर्व, अवसर तथा विपत्तिको समयमा नि:शुल्क कलर रिङटोन प्रसारणलगायतका काम पनि गर्दै आएको जनाएको छ।
टेलिकमले गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावित जनसमुदायको लागि ब्ल्यांकेट, टेन्टलगायतका राहत सामग्री उपलब्ध गराएको थियो भने गत असोजको पहिरो तथा डुबानपीडितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको थियो।