काठमाडौं- नेपाल विज्ञापन संघले विज्ञापन बजारलाई चलायमान बनाउने निष्कर्षसहित आफ्नो २५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरुलगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरुलाई संलग्न गराइ दुईवटा विशेष कार्यक्रमसहित संघले शुक्रबार आफ्नो २५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो।
पहिलो बन्द सत्रमा संघको वर्तमान कार्यसमितिका तर्फबाट संघका महासचिव तथा कोषाध्यक्षबाट प्रस्तुत गरिएको छुट्टाछुट्टै वार्षिक तथा आर्थिक तथा आगामी आर्थिक वर्षको कार्यक्रम र अनुमानित आय-व्यय विवरणहरु बहुमतले पारित गरिएको थियो।
दोस्रो सत्रमा विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरुलगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरुलाई संलग्न गराइ बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।
बिख्यात विज्ञापन उत्पादक, पत्रकार तथा प्रस्तुकर्ता भुषण दाहालको समन्वयमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ, नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्शका कमलेश अग्रवाल, मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्कर राज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्म राज भुषाल तथा नेपाल विज्ञापन संघका अध्यक्ष सुदिप थापाले आ-आफ्नो क्षेत्रको धारणा राखेका थिए।
वरिष्ठ विज्ञापन व्यवसायी रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्षमा विज्ञापन तथा समग्र मिडिया उद्योगको वर्तमान अवस्थाको चित्रण गरेका थिए।
कार्यक्रमको अन्तमा विज्ञापन व्यवसायी तथा मिडियाहरु समय सापेक्षरुपमा परिष्कृत हुनुपर्ने, विज्ञापनदाताहरुले पनि विज्ञापनलाई खर्चभन्दा लगानीको रुपमा लिनुपर्ने र मिडियाहरुले पनि विज्ञापनदाता र लक्षित समूहलाई आकर्षक हुने सामाग्री प्रस्तुत गर्नुका साथै जनस्वास्थ स्वास्थ ऐन, क्लिन फिड नीतिलगायत विज्ञापनलाई बन्देज गर्ने कानूनहरुलाई समेत पुनःविचार गर्न सम्बद्ध सबै पक्षहरुले आ-आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्ने निष्कर्ष र प्रतिबद्धतासहित सो कार्यक्रम समापन भएको थियो।