काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताएका छन्। शनिबार द्रुतमार्गको प्रस्थान बिन्दु मानिएको खोकनादेखि बुङ्मती हुँदै फसिडोलसम्मको अवलोकन एवम् निरीक्षण गर्दै देखिएका समस्या र चुनौती छिट्टै समाधानतर्फ लाग्ने बताए।
‘यो फास्ट ट्र्याक तराई र काठमाडौं जोड्ने लाइफलाइन हो’, निरीक्षणका क्रममा मन्त्री दाहालले भने, ‘यसको प्रस्थान बिन्दु कायम गर्ने विषयमा केही चुनौती देखिएका छन् तर यी विषयलाई लम्बिन दिनु हुँदैन, सबैले समाधानको विकल्प खोजी गर्नुपर्छ।’
सडक निर्माण एवम् विस्तार गर्दा कसैको पनि आस्थामाथि प्रहार गर्न नहुनेमा सरकार सजग रहेको भन्दै मन्त्री दाहालले धार्मिक, सांस्कृतिक एवम् परम्परागत मान्यता र अस्थाहरुको संरक्षण गर्दै निकास निकाल्नुपर्नेमा जोड दिए।
फास्टट्र्याकले सर्वसाधारणको आवात जावत सहज पार्ने मात्र नभइ नेपालको बैदेशिक व्यापारलाई समेत प्रवर्द्धन गर्ने भन्दै उनले समृद्ध नेपाल निर्माणको एउटा आधारमा रुपमा यसलाई लिइएको बताए।
मुआब्जा वितरण, क्षतिपूर्ति, मोही तथा गुठी आदीका विषयहरुलाई निराकरण गरी यसको निर्माण कार्यलाई गति दिन जरुरी रहेको उनको भनाइ थियो। त्यस क्रममा उनले फास्ट ट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेना प्रति सरकारको उच्च भरोसा रहेको उल्लेख गर्दै उनले विकास निर्माणमा सेनाको योगदान सह्रानिय रहेको बताए।
पूर्वाधारमन्त्री दाहाललाई नेपाली सेनाका मेजर रमेश आचार्यले फास्ट ट्र्याक निर्माणको अवस्था, चुनौती एवम् विकल्पहरुका बारेमा ब्रिफिङ गरेका थिए।