कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-१२ कालागौंडीका जनक साउदले खेतमा धान र गहुँ लगाउदा वर्ष भरी खानै पुग्दैनथ्यो।
त्यही जग्गामा उनले दुई वर्षदेखि निरन्तररुपमा व्यावसायिकरुपमा तरकारी खेती गर्न थालेपछि मनग्य आम्दानी हात पार्न थालेका छन्। तरकारी बेचेको पैसाले साउदले वर्षभरी खान पुग्ने गरी धान र गहुँ खरिद गर्दै आएका छन्।
स्वामित्वको आठ कठ्ठा जग्गामा पाँचवटा प्लाष्टिकका टनेल निर्माण गरी उनले तरकारी खेती गर्दै आएका छन्। प्लाष्टिक टनेलमा उनले बढी फल्ने जातका गोलभेँडा रोपेका छन्। टनेल बाहिरको बारीमा बन्दागोभी, काउली, मुला, धनियाँ, खुर्सानी, भण्टा, प्याज, तिते करेला रोपेका छन्। तरकारी खेती भने उनले पूरै आफनै लगानीमा भने गरेका होइनन्।
नगरपालिका कार्यालयबाट व्यावसायिक तरकारी खेती गर्नका लागि साउदले तीन लाख रूपैयाँ अनुदान रकम पाएका छन्। तीन लाख रूपैयाँ अनुदानबापत पाएको रकम र त्यसमा तीन लाख रूपैयाँ आफ्नातर्फबाट थप गरी उनले तरकारी खेतीलाई अगाडी बढाउँदै आएका छन्।
तरकारी खेतीका लागि लगानी गरिएको रकमबाट बीउजिन खरिद, प्लाष्टिक टनेल निर्माण, गोडमेल र जोताइका लागि मिनी टिलर खरिद गर्नुका साथै सिँचाइका लागि बोरिङ जडानकार्य गरेका छन्। व्यावसायिक खेती गर्ने किसानका लागि वडा कार्यालयले सञ्चालन गरेको तालिममा सहभागी भएर साउदले तरकारी उत्पादन गर्ने तौर तरिका सिकेका छन्।
गत वर्ष तरकारी खेती गर्नका लागि नौलो अनुभव हुँदा खर्च कटाएर दुई लाख रूपैयाँ जतिको कमाइ गरेका उनले यस वर्ष लौका र काँक्रा बिक्री गरी ४० हजार रूपैयाँ जतिको आम्दानी गरेका छन्।
टनेलमा उत्पादन भएको गोलभेँडामात्रै १० हजार रूपैयाँ जतिको बिक्री भएको उनको भनाइ रहेको छ। 'बारीमा तरकारी बेच्नका लागि तयार हुँदैछ' उनले भने, 'गत वर्ष परीक्षणमै बित्यो, यस वर्ष तीन लाख रूपैयाँदेखि पाँच लाख रूपैयाँसम्मको हाराहारीमा तरकारी उत्पादन हुने अनुमान गरेका छौँ।'
उनका अनुसार जति मिहिनेत गरेपनि धान, गहुँलगायतको अन्न चाहेजस्तो उत्पादन नहुँदा वर्ष भरी खान पुग्दैनथ्यो। बाह्य क्षेत्रबाट खरिद गर्नु पर्ने बाध्यता थियो। तरकारी उत्पादनकार्य हुन थालेपछि घर खर्चसँगै वर्षभरि खान पुग्ने अन्नको जोहो तरकारी बिक्री गरी आएको रकमबाट धानिदै आएको छ।
बारीमा उत्पादीत तरकारी बेच्नका लागि झन्झट नभएको उल्लेख गर्दै उनले स्थानीय तरकारी व्यापारीले आएर बारीबाटै तरकारी खरिद गरेर लैजाने गरेको बताए। व्यापारी नआउको बेला आफै पनि बजार क्षेत्रमा तरकारी पुरयार बेच्ने गरेको उनी बताउँछन्। वडाध्यक्ष नवल सिंह राना साउदलाई मिहिनेती किसानका रुपमा चिन्छन्। व्यावसायिक कार्य गर्ने पौरखी किसान भएकाले अनुदानको रकम उपलब्ध गराइएको उनको भनाइ रहेको छ।
व्यावसायिक कार्य किसानलाई प्रोत्साहीत गर्नका लागि मागअनुसारका आयआर्जनका कार्यक्रम सञ्चालन गर्न तत्पर रहेको उनले बताए।'किसानलाई व्यावसायिक तालिम, अनुदानका कार्यक्रममा संलग्न गराउनका लागि कार्य गरी रहेका छौँ,' उनले भने, 'वडाकै पहलमा केही किसान केरा खेती, माछापालन, तरकारी खेतीमा संलग्न छन्, मौसमी आलु खेती गर्ने किसानलाई बेमौसमी आलु खेती गर्न अनुदानमा बीउ उपलव्ध गराइएपछि वर्षमा दुईपटक आलुको उत्पादन गरी आम्दानी लिन सक्षम भएका छन्।' रासस