काठमाडौं- चिनियाँ विद्युतीय सवारी स्टार्टअप होजोन अटोमोबाइल गम्भीर संकटमा परेको छ। होजोन अटोले निटा ब्रान्डमा विद्युतीय कार उत्पादन गर्दै आएको छ। पछिल्लो समय चीनमै निटा ब्रान्ड संकटमा परेको हो।
चीनबाट सुरु भएको निटा ब्रान्डले थाइल्यान्डमा पनि संकटमा परेको छ। होजोनले चीनमा गत महिना कर्मचारी कटौतीदेखि उत्पादनसमेत बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो।
गाडी बिक्री घटेपछि घाटा चुलिँदै जाँदा होजोनले चीनमा निटाको प्लान्ट बन्द गरेको दुई महिना नपुग्दै थाइल्यान्डको प्लान्टसमेत संकटमा परेको छ। निटा ब्रान्डले थाइल्यान्डमा आफ्नो उपस्थिति र बजार बढ्दै गइरहेको दाबी गरिरहँदा त्यही बिक्री आधा घटेपछि रोजगारी कटौती गर्नुपर्ने अवस्थामा होजोन पुगेको छ।
बिक्रीमा उल्लेख्य कमी आएका कारण चिनियाँ विद्युतीय कार उत्पादक होजोन अटोले थाइल्यान्डमा ४ सय रोजगारी कटौती गर्न लागेको नेसनथाइल्यान्ड डटकमले लेखेको छ। कम्पनीको क्यासफ्लो शून्य भएपछि गत दुई महिनाअघि चीनमा पनि होजोनले निटाको प्लान्ट जबरजस्त बन्द गरेर हजारौँलाई कामबाट निकालेको थियो।
थाइल्यान्डमा होजोनले निटा ब्रान्डमा ब्याङचेन जनरल एसेम्ब्ली प्याक्ट्रीबाट निटा ईभी उत्पादन गर्दै आएको छ। निटा अटो थाइल्यान्ड र प्लान्ट दुबैबाट ४ सय जनाको रोजगारी कटौती गर्ने निष्कर्षमा कम्पनी पुगेको छ।
निटाका ईभी बिक्री ४५.८ प्रतिशत घट्यो
होजोनले निटा ब्रान्डको बिक्रीका लागि उर्भर मानेको थाइल्यान्डमै बिक्रीमा भारी गिरावट आएको छ। २०२४ को ११औँ महिनामा थाइल्यान्डमा निटाको कार बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५.८ प्रतिशतले गिरावट आएको छ।
२०२३ मा निटा थाइल्यान्डले १ अर्ब ८० करोड थाइ भाट खुद घाटा बेहोरेको बिजनेस इन्टेलिजेन्स प्लेटफर्म क्रिडेन डेटाले उल्लेख गरेको छ। त्यसको अघिल्लो वर्ष निटाले केही नाफा गरेको थियो। कम्पनी स्थापनाको ५ वर्षमा निटा थाइल्यान्डले कुल ७ अर्ब ७८ करोड भाट आम्दानी गरेको र समग्रमा कम्पनीले १ अर्ब ७२ करोड भाट घाटा बेहोरेको छ।
जबरजस्त प्रिमियम देखिन नयाँ मोडल उत्पादन गर्न थालेपछि निटा ब्रान्डले घाटा बेहोर्न थालेको हो। यही गती कायम रहे अबको केही महिनामा निटा ब्रान्डले चीनमा टाट उल्टिएको घोषणा गर्नेछ। चीनमा टाट पल्टिएपछि थाइल्यान्डमा पनि त्यसको प्रभाव स्वतः पर्नेछ।
चीनमा होजोनको झेजियाङस्थित कारखानाबाट उत्पादन बन्द गरी कर्मचारीको तलब कटौती गएिको हो। निटाका प्रमुख कार्यकारी अधिकृत झाङ योङले प्लान्ट बन्द हुनुअघि नै सामाजिक सञ्जालबाट पलायन भएका उनी अझै आएका छैनन्।
निटा सन् २०१८ मा स्थापना भएको थियो। यो सुरुवातमा ईभी निर्मातामा ६÷७ नम्बरमा पथ्र्यो। यसले सस्तो मूल्यका ईभी निटा भी उत्पादन गर्दै आएको थियो। यही रणनीति अनुसार अगाडि बढेको निटाले सन् २०२२ मा १ लाख ५० हजार वटा कार उत्पादन गरेको थियो।
यही बेला निटाले महँगो सेगमेन्ट अर्थात प्रिमियम ईभीमा जाने निर्णय गरेको थियो। त्यसपछि उसले निटा भी टू, निटा एक्स, निटा जीटी, निटा एल, निटा एस र निटा एस हन्टिङ मोडेल सार्वजनिक गरेको थियो।
चीनमै मृत्युबरण गर्दै निटा
निटालाई पछिल्लो पटक चिनियाँ बजारमा समस्या झेलिरहेको छ। महँगो सेगमेन्टका ईभी बिक्रीमा निटालाई समस्या परिरहेको यसको घट्दो बिक्री दरले देखाएको छ।
२०२४ जनवरीदेखि सेप्टेम्बरमा निटाले ५३ हजार ८ सय ५३ वटा ईभी बिक्री गरेको थियो। त्यसयताका दुई महिनामा निटाको विद्युतीय कार बिक्री अझै घटेको छ। निटाको वार्षिक बिक्री लक्ष्यको ४५ प्रतिशतभन्दा बढीले कमी आएको छ।
चीनमा निटाको झेइजियाङको टोङजियाङस्थित प्लान्टबाट कार उत्पादन बन्द भएको थियो। यो निटाको मुख्य उत्पादन प्लान्ट हो, जसले वार्षिक २ लाख वटा ईभी उत्पादन गर्ने क्षमता छ। यो वर्ष निटाले कामदारको तलबसमेत कटौती गरेको छ। निटाका उच्च तहका कामदारको तलब अधिकतम ३० प्रतिशतसम्म कटौती गरिएको छ। त्यस्तै निटाले चीनमा ४ देखि ६ हजार कर्मचारी कटौती गर्ने अवस्थामा पुगेको छ।
निटाको माउ कम्पनी होजोन अटोले २०२१ मा ४ अर्ब ८४ करोड युआन (६७ करोड ६० लाख अमेरिकी डलर) खुद नोक्सान बेहोरेको थियो। २०२२ मा ६ अर्ब ६७ करोड युआन (९३ करोड डलर) र २०२३ मा ६ अर्ब ८७ करोड युआन (९६ करोड डलर) बराबर खुद नोक्सान बेहोरेको थियो। यसरी हरेक वर्ष अर्बौँ घाटा बेहोरेको होजोन अटो चीनमै आधिकारिक रुपमा बन्द हुने अवस्थामा पुग्दैछ। चीनको अर्को कम्पनी डायुनले ब्यांकरप्सी फाइल गरिसकेको छ। निटाले पनि ढिलोचाँडो ब्यांकरप्सी फाइल गर्ने निश्चितप्रायः छ।
गत जुनमा होजोन अटोले हङकङ स्टक एक्सचेन्जमा सूचीकृत हुन आवेदन दिएको थियो। तर कम्पनीले अवस्था नाजुक भएपछि सूचीकृत हुन सकेन। होजोनलाई हङकङबाट पनि लगानी आउने तयारी थियो। कम्पनीको वित्तीय अवस्था र उत्पादन लाइनअपले लगानीकर्तालाई आकर्षित गर्न सकेन र लगानी पाएन। होजोनलाई स्थानीय सरकारले प िनगत वर्ष लगानी गरेको थियो। निरन्तर घाटामा गएपछि अब स्थानीय सरकार थप लगानी गर्ने पक्षमा नरहेको चिनियाँ विज्ञहरुको भनाइ छ। चीनमै निटा ब्रान्ड मृत्युउन्मुख रहेको छ। चीनमा मात्र होइन थाइल्यान्ड तथा अन्यत्र जहाँ निटा पुगेको छ, त्यहाँ समस्या ग्रस्त हुँदै गएको छ।
नेपालमा पनि होजोनको निटा ब्रान्ड सीजी मोटर्सले आयात गर्दै आएको छ। सीजी मोटर्सले निटा ब्रान्ड आयातमा बदमासीसमेत गरिरहेको छ। बिक्री बढ्न नसकेपछि सीजी मोटर्सले अत्याधिक नाफासहितको मूल्य निर्धारण गरेर छुटको बहानामा फोर्स सेल गरिरहेको छ। चीनमा निटा ब्रान्ड बन्द भएपछि त्यसको पार्टसलगायत उपलब्ध हुने छैन। त्यसैले निटा ब्रान्डका कार किन्नेले आगामी दिनमा पार्टस नपाउने, सर्भिस नपाउनेलगायत गम्भीर समस्या बेहोर्नुपर्ने निश्चित छ।