काठमाडौं- मुगु कर्णाली र किमाथांकामा लगानी गर्न भारतीय अर्बपति गौतम अडानी समूहले चासो दिएको छ। विद्युत उत्पादन कम्पनीले ५ खर्ब ५३ अर्ब रूपैयाँ लागत भएका परियोजनामा लगानीका लागि आह्वान गरेको प्रस्तावका लागि १५ दिन समय थपेको छ। परियोजनामा लगानी गर्न चाहने इच्छुक कम्पनीले पुस २३ गते १२ बजेसम्म आवेदन दिन सक्नेछन्।
भारतीय अर्बपती अडानी समूहले लामो समयदेखि मुगु कर्णालीसहितका आयोजनामा चासो दिँदै आएको छ। विगतमा चासो दिएपनि नेपाल सरकारका अस्थिर नीतिले होल्डमा बसेको अडानी समूहले अहिले पुनः चासो देखाएको हो।
आफैले लगानी जुटाउन सक्ने अवस्था नभएपछि सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलबाट आयोजनाहरू विकास गर्न लागिएको हो। ५१ प्रतिशत लगानी गरी साझेदारी गर्न इच्छुक कम्पनीसँग प्रस्ताव मागिएको छ। १९०२ मेगावाटको मुगु कर्णाली र ४५४ मेगावाटको किमाथांका अरुण जलविद्युत आयोजनामा लगानी जुटाउन प्रस्ताव मागिएको छ।
किमाथांका अरुणको लागत ९३ अर्ब ८० करोड रुपैयाँ अनुमान गरिएको छ। मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको लागत ४ खर्ब ६० अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ। बिजुलीको अधिकतम माग हुने समयमा आयोजनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएका दुवै आयोजना अगाडि बढाउन लागिएको छ।
ठूला जलविद्युत र पूर्वपश्चिम जोड्ने प्रसारण लाइनमा लगानी गर्न अगाडि सरेका भारतीय अर्बपति अडानी नेपालमा लगानी गर्नबाट हच्किँदै आएका थिए। अहिले पुनः अडानी समूहका प्रतिनिधि नेपाल सरकारको सम्पर्कमा आएका छन्।
अडानी समूहले यसअघि नै जलविद्युत र विमानस्थल पूर्वाधारमा चासो दिएको थियो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गौतम अडानीले पत्र नै काटेर नेपालका ठूला जलाशययुक्त परियोजनामा लगानी गर्न इच्छुक रहेको जानकारी गराएका थिए।
अडानीले विभिन्न परियोजनामार्फत नेपालमा ३ हजार ८ सय ५१ मेगावाट विद्युत तत्काल उत्पादन प्रक्रिया अगाडि बढाउन काम सुरु गर्न लागेका थिए।
अडानी समूहले कर्णाली प्रदेशमा पर्ने फुकोट कर्णाली तथा तिला-१ र तिला-२ गरी तीनवटा जलविद्युत आयोजनामा तत्कालै लगानी गर्नसक्ने प्रस्ताव अडानी समूहले गरेको थियो। १० हजार मेगावाटको कर्णाली चिसापानी आयोजना अडानी ग्रुपले चासो देखाएको थियो।
अडानी समूहले नेपालमै पहिलोपटक ७६५ केभी क्षमताको पूर्वपश्चिम प्रसारण लाइन निर्माणको प्रस्ताव पनि गरेको थियो। जुन प्रसारण लाइन नेपालको ऊर्जा क्षेत्रको विकासका लागि कोशेढुंगा हुने थियो। भारतको पूर्वाधार क्षेत्र खासगरी ऊर्जा र प्रसारण लाइनमा धेरै नै ठूलो लगानी गरेको अडानी समूह नेपालका परियोजनाहरूमा काम गर्न गम्भीर ढंगले चासो दिएको थियो।
अहिलेसम्म नेपालमा अधिकतम ४०० केभीका मात्रै प्रसारण लाइन बनेका छन्। अडानी समूहले भारतमा साढे १८ हजार किलोमिटर प्रसारण लाइन निर्माण गरेको छ, जसमध्ये अधिकांश ७६५ केभी क्षमताको छ। नेपालमा पनि त्यहीस्तरको प्रसारण लाइन निर्माण गर्ने अडानीको प्रस्ताव छ। त्यसका साथै लम्की बेरली ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव पनि छ। यो प्रसारण लाइन निर्माण हुँदा उसले उत्पादन गर्ने विद्युत मात्रै होइन, पश्चिम कर्णालीलगायतको बिजुली पनि भारत निर्यात गर्न सहज हुने छ।
पहिलो चरणमा अडानीले चारवटा जलविद्युत आयोजनामा लगानीको प्रस्ताव गरेका थिए। जुन तिला-१ र २, फुकोट कर्णाली र मुगु कर्णाली हुन्। तिला-१ जलविद्युत आयोजनाको क्षमता ४ सय ४० मेगावाट छ भने तिला-२ अयाोजना ४ सय २० मेगावाटको हो। तर यी आयोजनालाई क्रमशः ३ सय मेगावाट र २९७ मेगावाटमा बनाउने प्रस्ताव अडानीको छ।
त्यस्तैगरी फुकोट कर्णाली र मुगु कर्णाली आयोजना अहिले विद्युत उत्पादन कम्पनी मातहत छ। कालीकोटमै बन्ने फुकोट कर्णाली आयोजनाको क्षमता ४ सय ९२ मेगाावाट छ। त्यस्तै कर्णाली प्रदेशकै मुगु कालिकोट, हुम्ला तथा बाजुरा जिल्लामा बन्ने मुगु कर्णाली आयोजना जलाशययुक्त हो, जसको क्षमता १९०२ मेगावाट छ। यी आयोजना पनि अगाडि बढाउन अडानी समूह इच्छुक थियो।