बुटवल- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले औद्याेगिक व्यापार मेला बुटवल-२०८१ काे अवलाेकन गरेका छन्। उद्योग वाणिज्य संघ रूपन्देहीले आयाेजना गरेकाे मेलाकाे बुधबार उनले अवलाेकन गरेका हुन्।
मेला अवलाेकनपछि उपप्रधानमन्त्री सिंहले व्यापार मेलाले आर्थिक गतिविधि बढाउन मद्दत गर्ने भन्दै मेला सफलताकाे शुभकामना व्यक्त गरे। उनले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे बाँकी काम छिट्टै सम्पन्न गर्ने पनि बताए।
'विशेष संरचनाका रूपमा सञ्चालनका लागि गठनादेश मन्त्रिपरिषद्बाट पारित भइसकेकाे छ। अब यसलाई चाँडै सम्पन्न गर्ने र सम्पन्न भइसकेका संरचनाकाे व्यवस्थित रूपमा सञ्चालनका लागि सरकार अघि बढिसकेकाे छ', उनले भने।
सहरी विकास मन्त्रालयअन्तर्गतकाे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी १६ दिनसम्म चल्ने मेलाकाे आज ८औँ दिन हाे।
सिंहसँगै मेलामा बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डे, रूपन्देही कांग्रेसका सभापति, तिलाेत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँण, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेलगायत सहभागी थिए।