शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

मञ्जुश्री गुफा आवतजावत गर्न पदमार्ग निर्माण

images
बुधबार, पुस १० २०८१
images
images
मञ्जुश्री गुफा आवतजावत गर्न पदमार्ग निर्माण
फाइल तस्बिर

तुवाचुङ-जायाजुम निर्माणाधीन पदमार्गको काम ९० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि ध्रुव थापाले जानकारी दिए।

images
images

खोटाङ- त्रिधार्मिकस्थल खोटाङको हलेसी क्षेत्रमा अवस्थित मञ्जुश्री गुफा आवतजावतका लागि पदमार्ग निर्माण गरिएपछि भक्तजन तथा पर्यटकलाई सहज भएको छ। हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको संगमस्थल हलेसी नजिकै रहेको मञ्जुश्री गुफा आवतजावत गर्ने भक्तजन तथा पर्यटकलाई लक्षित गरेर आकर्षक ढुंगा बिच्छ्याएर पदमार्ग निर्माण गरिएको हो।

images
images
images

मञ्जुश्री गुफा जाने पदमार्गसँगै तुवाचुङ पदमार्ग, माङिखम घर निर्माणलगायतका लागि नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु छ करोड लगानीमा ठेकेदारमार्फत स्तरोन्नतिको काम शुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए।

images

'मञ्जुश्री गुफा जाने बाटो अत्यन्तै अप्ठ्यारो थियो । पदमार्ग निर्माण भएसँगै यात्रा गर्न सहज भएको छ', उनले भने, 'मञ्जुश्री गुफा जावतजावतका लागि प्रयोग गरिने पदमार्ग आकर्षक बनेपछि पर्यटकको सङ्ख्यासमेत वृद्धि भएको छ।'

images
images
images

मञ्जुश्री गुफा आवतजावत गर्ने भक्तजन तथा पर्यटकलाई लक्षित गरेर बाहिरी जिल्लाबाट आयात गरिएको आकर्षक ढुंगा बिच्छ्याएर ३६० मिटर लामो पदमार्ग निर्माण गरिएको छ। पदमार्गको दाँया र बाँया आकर्षक ढुंगाकै पर्खालसमेत लगाइएको छ। पाँच मिटर चौडाइ रहेको पदमार्ग टाढाबाट हेर्दा निक्कै आकर्षक देखिन्छ। 

धार्मिकरुपमा मात्र नभइ प्राकृतिकरुपसमेतमा विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी दर्शन एवम् अवलोकन गर्न विश्वका तीर्थालु तथा पर्यटक आउने गरेका छन्। हलेसीसँगै नजिकै रहेका विभिन्न गुफामा पनि भक्तजन पुग्ने गरेका छन्। 

विशेष गरी हलेसीस्थित मारातिका गुम्बा आउने बौद्ध धर्मावलम्बी अनिवार्यरुपमा मञ्जुश्री गुफा जाने गरेका छन्। पदमार्ग भएर आवतजावत गरिने मञ्जुश्री गुफाभित्र बौद्ध धर्मावलम्बी लामो समयसम्म ध्यान गरेर बस्ने गरेका छन्।

मञ्जुश्री गुफा जाने बाटो अप्ठ्यारो हुँदा कयौँ पटक लडेर भक्तजनलाई चोटपटक लागेकाले पदमार्ग निर्माण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले बताइन्। 'मञ्जुश्री गुफामा निर्माण गरिएको पदमार्ग गुणस्तरीय र आकर्षक छ। यसले हलेसी क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि मद्दत गर्ने अपेक्षा गरेका छौँ', उनले भनिन्, 'मञ्जुश्री गुफा पदमार्गमा फोटो, भिडियो खिच्नको लागि मात्रै पनि पर्यटक पुग्ने गरेको छन्। आकर्षक पदमार्गका कारण हलेसीको पर्यटन प्रवर्द्धनमा थप टेवा पुगेको छ।'

किरात राई समुदायको उद्गमस्थल तुवाचुङ-जायाजुममा निर्माणाधीन पदमार्गलाई ‘मिनी ग्रेटवाल’ नामाकरण गरेर स्तरोन्नति गर्ने काम भइरहेको नगर प्रवक्ता गिरीले जानकारी दिए। छ सय ७० लामो मिनी ग्रेटवालको उचाइ एक मिटर २० सेन्टीमिटर तथा चौडाइ ६० सेन्टिमिटरको हुने जनाइएको छ।  

तुवाचुङ-जायाजुम निर्माणाधीन पदमार्गको काम ९० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि ध्रुव थापाले जानकारी दिए। त्रिधार्मिकस्थल हलेसीस्थित बशाहा गुफा नजिकै निर्माण गरिने माङिखम (तीन चुल्हा)सहितको घरको काम भने शुरु भएको छैन। 

हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल तुवाचुङ-जायजुममा दर्शन गर्न र भ्रमण गर्न आउने देश÷विदेशका किराती र गैर-किरातीको भीड लाग्ने गरेको छ।

हरेक वर्षको उँधौली र उँभौली आर्थात् मङ्सिरे र बैशाखे पूर्णिमामा बृहत् साकेला मेला लाग्ने तुवाचुङ-जायजुममा किरातीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा यसअघि नै स्थापना गरिएको छ। रासस


प्रकाशित : बुधबार, पुस १० २०८११४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend