पाल्पा- रामपुरलाई नमूना सहरका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिका क्षेत्रमा सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ।
ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजनाअन्तर्गतको रामपुर नगरपालिका वडा नं ५ र ६ मा पर्ने सहायक सडकको स्तरोन्नति थालिएको हो। लुम्बिनी प्रदेश सरकार, सहरी विकास मन्त्रालयमार्फत नौ किलोमिटर सडक स्तरोन्नति हुनेछ।
२६ करोड ७१ लाख रूपैयाँको लागतमा थालिएको सडकको स्तरोन्नति रामपुर नगरपालिकामा अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना हो।
रामपुर-५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलका अनुसार दैनिक एकसय कामदार परिचालन भएका छन्। आयोजनाबाट रामपुरको पर्यटन, कृषि, उद्योग, व्यापार, व्यवसाय विस्तारमा योगदान पुग्ने उनले बताए। रासस