कैलाली- धनगढी-खुटिया-दिपायल द्रुतमार्गमा निर्माणाधीन आठ पुलको काम प्रभावित भएको छ। धनगढी-खुटिया-दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको हो।
उक्त सडक आयोजना कार्यालयले तीन वर्षअघि २०७८ माघमा छवटा र २०७९ जेठमा दुई गरी आठ पुल निर्माणका लागि २८ करोड ७५ लाख रूपैयाँमा ठेक्का लगाएको थियो। पर्याप्त बजेट विनियोजन नहुँदा पुल निर्माणको कामले गति लिन नसकेको इन्जिनियर रैखोलाले जानकारी दिए।
आयोजना कार्यालयले दिएको जानकारीअनुसार चप्टे नदीमा पुल निर्माण गर्न दुई करोड ९७ लाख रूपैयाँ, मटेलीमा तीन करोड २६ लाख रूपैयाँ र चौकीगडा पुलका लागि चार करोड ७० लाख रूपैयाँमा तथा सलेनामा सालाकोट पुल निर्माण गर्न तीन करोड ५१ लाख रूपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो।
यसैगरी, कालाखोल-लामगाडा पुल चार करोड पाँच लाख रूपैयाँ, नकुराडी खोलाको पुल तीन करोड ८२ लाख रूपैयाँ, कैलालीको हाटखोली र ग्वासी खोलामा बन्ने पुलका लागि क्रमशः पाँच करोड १९ लाख तथा चार करोड ५० लाख रूपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको इन्जिनियर रैखोलाले बताए।
आठवटै पुलका निर्माणका लागि गत आर्थिक वर्ष २०८०/८१ मा ४०/४० लाख रूपैयाँका दरले बजेट विनियोजन गरिएको थियो भने चालु आर्थिक वर्ष २०८१/८२ मा ८०/८० लाख रूपैयाँका दरले प्रतिपुल निर्माण गर्न बजेट विनियोजन गरिएको उनले जानकारी दिए।
धनगढीदेखि बझाङको थलारासम्मको एकसय ८६ किलोमिटर सडकमा २३ किलोमिटर सडक कालोपत्र भएको छ भने ३६ किलोमिटर सडक कालोपत्र गर्न तीन खण्डमा ठेक्का लगाइएको सडक आयोजना कार्यालयले जनाएको छ। रासस