मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सेयर बजारमा लगातार वृद्धि, अब उचाइको लयमा फर्किएला?

मंगलबार, पुस ९ २०८१
सेयर बजारमा लगातार वृद्धि, अब उचाइको लयमा फर्किएला?

काठमाडौं- सेयर बजार लगातार वृद्धितर्फ देखिएको छ। लामो समयदेखि उतारचढाव हुँदै ओरालोतिर नै लागिरहेको बजारमा लगातार दोस्रो दिन हरियाली देखिएको हो। 

गएको साता चार दिनकै कारोबारमा ८५.४५ अंकले घटेको सेयर बजार यो साताको पहिलो कारोबारमा आइतबार पनि १३.५३ अंकले घटेको थियो। सोमबार २८.९१ अंकले बढेर बजार २६१२.२० बिन्दुमा उक्लिएको बजार मंगलबार पनि बढेको छ।

मंगलबार १४.११ अंकले बढेर बजार २६२६.३१ बिन्दुमा पुगेको छ। ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएको बजारमा १६७ कम्पनीको सेयर मूल्य बढेको छ। ७१ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा लगानीकर्ता विश्वस्त देखिन नसक्दा ओरालो यात्रा बढेको थियो। बजारले वृद्धिको साथ पाउने अवस्था रहे पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उचाइ समात्न समय लागेको विश्लेषकहरू बताउँछन्।  

लगातार दुई दिनको वृद्धिले बजारको अवस्था आँकलन गर्न नसकिने भए पनि बजार वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहेको छ।

 गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिरमा पनि पूरा हुन सकेन। पुस महिनामा पनि बजार धरमरकै अवस्थामा देखिन्छ। 


प्रकाशित : मंगलबार, पुस ९ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend