बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

वैदेशिक रोजगारीमा अहिलेसम्मकै धेरै, एक महिनामै ८४ हजार २ सय २६ जनाले लिए अन्तिम श्रम स्वीकृति

मंगलबार, पुस ९ २०८१
वैदेशिक रोजगारीमा अहिलेसम्मकै धेरै, एक महिनामै ८४ हजार २ सय २६ जनाले लिए अन्तिम श्रम स्वीकृति

काठमाडौं- वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्यामा 'रेकर्ड' बनेको छ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको मंसिर महिनामा अन्तिम श्रम स्वीकृति लिनेको संख्या अहिलेसम्मकै धेरै भएको छ। विभागका अनुसार मंसिर महिनामा ८४ हजार २ सय २६ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्। जुन एकै महिनामा अहिलेसम्मकै ठूलो तथ्यांक हो। 

यसअघि सबैभन्दा धेरै २०७९ को कात्तिकमा ७८ हजार ३ सय ७० जना युवाले वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिएका थिए। 

वार्षिक रुपमा हेर्दा आर्थिक वर्ष २०७९/८० मा विदेश जाने युवाको संख्यामा 'रेकर्ड ब्रेक' भएको थियो। उक्त वर्ष नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार ३ सय २७ रहेको थियो। यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जानेहरूको संख्या हो।

विभागका अनुसार चालु आवको मंसिरमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जानका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या २८ हजार ८ सय ६८ रहेको छ। यसैगरी बिदामा नेपाल आएर पुन: रोजगारीका लागि विदेश जान अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४१ हजार ३ सय २० रहेको छ। व्यक्तिगत भिसा आएपछि अन्तिम श्रम स्वीकृति लिएर जानेको संख्या १३ हजार ५९ र 'जीटूजी'मार्फत विदेश जान अन्तिम श्रम स्वीकृति लिनेको संख्या ९ सय ७९ रहेको छ।

अहिले विदेश जाने कामदारको रोजाइमा खाडी देश परेका छन्। म्यानपावर व्यवसायीहरूका अनुसार अहिले यूएईले बंगलादेश र पाकिस्तानबाट कामदार लैजान प्रतिबन्ध लगाएको छ। जसको कारण नेपालीका लागि माग बढेको छ।

नेपालका अधिकांश म्यानपावरमा अहिले यूएईको माग ज्यादा छ। यसैगरी साउदी अरब र कतारको माग पनि बढेको छ। खाडीका देश रोजाइमा पर्नुको प्रमुख कारण मलेसियाको रोजगारी बन्द हुनु पनि हो।

विभागका अनुसार चालु आवको साउनदेखि मंसिरसम्ममा वैदेशिक रोजगारीमा जाने युवाको संख्या ३ लाख २५ हजार ८ सय ९ रहेको छ। 

विभागका अनुसार चालु आवको मंसिरमा सबैभन्दा बढी ८४ हजार २ सय २६, कात्तिकमा ७० हजार ९ सय ९०, असोजमा ५३ हजार ५ सय २५, भदौमा ५७ हजार ४ सय ९३ र साउनमा ५९ हजार ५ सय ७५ जना युवा रोजगारीका लागि विदेश गएका छन्।


प्रकाशित : मंगलबार, पुस ९ २०८११४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend