काठमाडौं- गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षणका क्रममा राष्ट्र बैंकले प्रोभिजनिङ बढाएपछि बैंक वित्तीय संस्थाहरू समस्यामा परेका छन्।
गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गर्दै खुद नाफा उल्लेखीयरुपमा बढेको दाबी गर्ने वाणिज्य बैंकहरूकै कर्जा नोक्सानी व्यवस्था बढाएपछि कतिपय बैंकहरू समस्यामा परेका हुन्।
एक बैंकले आफ्नो अपरिष्कृत वित्तीय विवरणमा ४ अर्ब ४० करोड खुद नाफा देखाएकोमा अन्तिम लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा ६० करोडमा सीमित भएको छ। उक्त बैंकको सञ्चित नोक्सानी बढेर २ अर्ब ८३ करोड पुगेको छ।
यस्तै, अर्को एक बैंकले प्रारम्भिक प्रतिवेदन तयार पारी राष्ट्र बैंक पठाएपछि राष्ट्र बैंकले प्रोभिजनिङ बढाएर खुद घाटा देखाएपछि आगामी बैशाखमा मात्रै साधारणसभा गर्ने तयारी गरेको छ।
राष्ट्र बैंकले प्रोभिजनिङ बढाएपछि वितरणयोग्य घाटा बढेकाले लाभांश बाँड्न नपर्ने भएकाले चालु आर्थिक वर्षको अन्त्यतिर मात्रै साधारणसभा गर्ने तयारीमा कतिपय बैंकहरू देखिन्छन्।
गत वर्षदेखि नै उच्च वितरणयोग्य घाटा भएका कतिपय बैंकहरू अग्राधिकार सेयर र फर्दर पब्लिक अफरिङ (एफपीओ) मा जाने प्रस्तावसहित पुसभित्रै साधारणसभा गर्ने तयारीमा छन्।
सरकारले निर्माण व्यवसायीको रकम समय भुक्तानी नगर्दा र अर्थतन्त्र चलायमान नहुँदा अधिकांश बैंकहरू समस्यामा परेका हुन्। राष्ट्र बैंकको मर्जर तथा एक्विजिसन नीतिमा हौसियर खराब बैंकहरूलाई एक्वायर गरेका अधिकांश राम्रा बैंकहरू पनि विगत दुई वर्षदेखि उच्च दबाबमा छन्।
विगतका सिभिल, सेन्चुरी, मेगा, एनसीसीलगायतका बैंकहरूले कमसल धितो लिएर प्रवाह गरेका कर्जाका कारण ती बैंकहरूलाई प्राप्ति गर्ने बैंकहरू हाल समस्यमा देखिएका हुन्।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले निर्माण व्यवसायीको कर्जालाई पुनर्तालिकीकरणको सुविधा दिएपनि मौद्रिक नीतिको पहिलो समीक्षामार्फत उक्त सुविधा हटाएपछि अन्तिम लेखापरीक्षणको प्रारम्भिक रिपोर्टका क्रममा कतिपय बैंकहरूको प्रोभिजनिङ बढ्दा वितरणयोग्य नाफा ऋणात्मक हुन पुगेको हो।
खराब कर्जाका लागि राष्ट्र बैंकले इम्पियरमेन्ट चार्ज बढादिएपछि मर्जरमा गएका अधिकांश बैंकहरूको खुद नाफामा उच्च गिरावट आएको एक बैंकरले बताए।
'राष्ट्र बैंकले प्रोभिजनिङ बढाएपछि अन्तिम लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा नाफामा कमी आएको हो। विगतमा भएका कतिपय व्यवस्थाहरूसमेत हटिसकेको भएपनि राष्ट्र बैंकले प्रोभिजनिङ थप्न लगाएपछि मर्जरमा गएका सबै बैंकहरू समस्यामा परेका छन्। अन्तिम लेखापरीक्षणको प्रारम्भिक रिपोर्ट नै पास नगरी प्रोभिजनिङ थप लगाउँदा समस्या भयो। कतिपय बैंकको खुद नाफा नै ऋणात्मक आएपछि साधारणसभा नै बैशाखतिर गर्ने तयारी छ। केहीले लाभांश बाँड्न नपरेको भन्दै वर्षको अन्त्यतिर साधारणसभा गर्ने मनिस्थिति बनाएका छन्', ती बैंकरले भने।
राष्ट्र बैंकले यो शीर्षक वा त्यो शीर्षक, यो ऋणी वा त्यो ऋणी पनि प्रोभिजनिङ गर्नुपर्छ भनेपछि बैंकहरूको प्रारम्भिक रिपोर्ट नै फरक परेको उनले बताए। बाह्य लेखापरीक्षणको अन्तिम प्रतिवेदन आउन अझै बाँकी रहेकाले राष्ट्र बैंकलाई मनाउने प्रयास भइरहेकोसमेत उनले बताए। अन्तिम प्रतिवेदन आउँदासम्म राष्ट्र बैंक केही नरम भएमा बैंकहरूको नाफामा सुधार हुन सक्ने उनको भनाइ छ।
पुस ३ गते भएको नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले हाल प्रोभिनजिङ बढ्दैमा आत्तिनु पर्ने अवस्था नरहेको बताएका थिए।
यो वर्ष बैंकहरूका लागि केही कठिन भएकाले राष्ट्र बैंकले गराएको प्रोभजनिङले बैंकहरूलाई डुब्न नदिने उनले बताएका थिए। अर्थतन्त्रमा सुधारका संकेतहरू देखा पर्न थालेकाले आगामी समय बैंकिङ क्षेत्रका लागि सुखद रहेकोसमेत गभर्नर अधिकारीले बताए।
'प्रोभिजनिङ बढ्यो भन्दैमा आत्तिनु पर्दैन। यो वर्ष लाभांश नपाउँदा आत्तिनु पर्दैन। राष्ट्र बैंकले गराएको प्रोभिजनिङ बैंकहरूकै हितमा छ। अर्थतन्त्रमा सुधारको संकेत देखा पर्न थालेको छ। आगामी समय बैंकिङ क्षेत्रका लागि राम्रो छ। अर्थतन्त्रमा सुधार हुन थालेपछि अहिले गराएको प्रोभिजनिङ कतै जाँदैन। बैंककै खातामा रहन्छ। समय सहज भएपछि फेरि लाभांश वितरण गर्न पाइन्छ', अधिकारीले भने।
विगतमा प्रोभिजनिङ गराएकै कारण कतिपय बैंकहरूले गत वर्षको नाफाबाट २५ प्रतिशतसम्म लाभांश दिन सकेको उदाहरणसमेत उनले दिएका थिए। राष्ट्र बैंकले ल्याएको मर्जरको नीति पालना गरेर बैंकिङ क्षेत्र नै बचाउने काम बैंकर्सले गरेकोमा उनले साधुभावसमेत प्रकट गरेका थिए।