काठमाडौं- साताको पहिलो कारोबार लगानीकर्ताका लागि सुखद् नरहे पनि दोस्रो कारोबारमा भने सेयर बजार वृद्धितर्फ लागेको छ।
गएको साता ८५.४५ अंकले घटेको सेयर बजार यो साताको पहिलो कारोबार दिन आइतबार पनि १३.५३ अंकले घटेर २५८३.२९ बिन्दुमा झरेको थियो। सोमबार भने बजार २८.९१ अंकले बढेर २६१२.२० बिन्दुमा उक्लिएको छ।
सोमबार एकसय ९४ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा चार अर्ब ४३ करोड २४ हजार रूपैयाँको कारोबार भएको छ। ४२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन।
लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा लगानीकर्ता विश्वस्त देखिन नसक्दा ओरालो यात्रा बढेको छ। बजारले वृद्धिको साथ पाउने अवस्था रहे पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उचाइ समात्न समय लागेको विश्लेषकहरू बताउँछन्।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाती भइरहेको छ। अहिलेको पर्ख र हेरको अवस्थामा लगानीकर्ता विश्वस्त छैनन्। बजार मनोवैज्ञानिक आधार बिन्दुमा टिकिरहन नै मुस्किल देखिएको छ।
गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिरमा पनि पूरा हुन सकेन। मंसिरमा मात्र बजार ६६.४९ अंकले घट्यो।
गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो। मंसिर २७ गते बजार २६८२.२९ बिन्दुमा झरेको थियो।
वृद्धि रोकिएको सेयर बजार पुन: उचाइतर्फ नै लाग्ने अपेक्षा कमजोर भइरहँदा बजारको प्रवृत्ति बुझ्नुपर्ने विश्लेषकहरू बताउँछन्। अहिले बजारले अपेक्षाकृत वृद्धिमा जान धरमर गरिरहेको देखिन्छ। बजारमा अत्याधिक अस्थिरता भइरहँदा पर्ख र हेरकै सोच देखिन्छ।