मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

निरन्तर ओरालोतिरै सेयर बजार, १३ अंकले घट्यो, ४ अर्ब ५१ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ७ २०८१
निरन्तर ओरालोतिरै सेयर बजार, १३ अंकले घट्यो, ४ अर्ब ५१ करोड रुपैयाँको कारोबार

काठमाडौं- गएको साता चार दिनकै कारोबारमा ८५.४५ अंकले घटेको सेयर बजार यो साताको पहिलो कारोबार पनि लगानीकर्ताका लागि सुखद हुन सकेन।

आइतबार १३.५३ अंकले घटेर सेयर बजार २५८३.२९ बिन्दुमा झरेको छ। ८४ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ५१ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ। १ सय ५४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।   

गएको साता पहिलो कारोबारमा सोमबार ५१.३७ अंकले घटेर मंगलबार २.९५ अंकले बढेको बजार बुधबार ५.६० अंक र बिहीबार ३१.४३ अंकले घटेको थियो। 

लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा लगानीकर्ता विश्वस्त देखिन नसक्दा ओरालो यात्रा बढेको छ। बजारले वृद्धिको साथ पाउने अवस्था रहे पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उचाइ समात्न समय लागेको विश्लेषकहरू बताउँछन्।  

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहेको छ। अहिलेको पर्ख र हेरको अवस्थामा लगानीकर्ता विश्वस्त छैनन्। बजार मनोवैज्ञानिक आधार बिन्दुमा टिकिरहन नै मुस्किल देखिएको छ।

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिरमा पनि पूरा हुन सकेन। मंसिरमा मात्र बजार ६६.४९ अंकले घट्यो। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो। मंसिर २७ गते बजार २६८२.२९ बिन्दुमा झरेको थियो। 

वृद्धि रोकिएको सेयर बजार पुन: उचाइतर्फ नै लाग्ने अपेक्षा कमजोर भइरहँदा बजारको प्रवृत्ति बुझ्नुपर्ने विश्लेषकहरू बताउँछन्। अहिले बजारले अपेक्षाकृत वृद्धिमा जान धरमर गरिरहेको देखिन्छ। बजारमा अत्याधिक अस्थिरता भइरहँदा पर्ख र हेरकै सोच देखिन्छ। 


प्रकाशित : आइतबार, पुस ७ २०८११५:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend