बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कोदोको रक्सी, केबलकारदेखि पाँचतारे होटेलमा लगानी प्रस्ताव गर्दै कोशी सरकार

शुक्रबार, पुस ५ २०८१
कोदोको रक्सी, केबलकारदेखि पाँचतारे होटेलमा लगानी प्रस्ताव गर्दै कोशी सरकार

पहाडी क्षेत्रमा कोदोको रक्सी बनाउने देखि विराटनगरमा पाँचतारे होटेल निर्माणको लागि प्रस्ताव आह्वान गर्न लागिएको हो। त्यससँगै जलविद्युत, कृषि र पर्यटनमा लगानी ल्याउने कोशी सरकारको तयारी छ।

इटहरी- कोशी सरकारको लगानी सम्मेलनमा उद्योगी व्यवसायीले असन्तुष्टि देखाएपछि चुलिएको विवाद समाधानउन्मुख हुँदै गएको छ। उद्योग व्यापार संगठन मोरङ, विराट व्यापार संघ, नेपाल उद्योग परिसंघ कोशी प्रदेशलगायत संगठनको विरोधपछि सरकार लचक बनेको हो। 

उद्योग संगठन मोरङले आयोजना गर्न लागेको व्यापारिक मेलामा नै लगानी सम्मेलन गर्ने तयारी गरेको कोशी सरकारले बीचको बाटो अपनाएको छ। मेला हुने स्थान र समयमै सम्मेलन गर्ने भएपनि सम्पूर्ण उद्योगी संगठनलाई समेट्नेगरि कोशी सरकारको छुट्टै ब्यानर र स्टेज तयार पार्ने भएको छ। 

मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लगानी सम्मेलन कोशी सरकारले नै गर्ने प्रस्ट पारे। प्रदेशसभाको सुशासन तथा योजना समितिको बैठकमा मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनका विषयमा बाहिर आएजस्तो विवाद नभएको बताए। 

सम्मेलनका लागि निजी क्षेत्रसँग सहकार्य पनि गरिने बताउँदै उनले भने, ‘सरकार मूल आयोजक हुन्छ। पूर्ण प्रस्ताव बनेपछि थप छलफल हुनेछ। मलेसियाका पूर्व अर्थमन्त्री आउने प्रतिबद्धता जनाउनु भएको छ। विश्व बैंकका पूर्वसीईओ पनि आउने सम्भावना छ। प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरू पनि सहभागी हुनुहुनेछ। यो साझा लगानी सम्मेलन हो।’

तीन करोड ३० लाख रुपैयाँ खर्च अनुमान गरिएको सम्मेलनको लागि राजनीतिक दल, नेपाल सरकारका माथिल्ला निकाय, संसदीय दल, लगानी बोर्ड तथा योजना आयोगको सुझाव लिइने कार्कीको भनाइ छ।

लगानी सम्मेलनको विवादको विषयमा सुशासन तथा योजना समितिले मुख्यमन्त्री कार्कीसहित प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालालाई बोलाएको हो। 

लगानी बोर्डका सीईओ कोइरालाका अनुसार सम्मेलनमा कुल ३७ वटा परियोजना प्रस्ताव गर्ने तयारी भएको छ। माघ ११ गतेदेखि सुरुहुने पहिलो प्रदेश स्तरीय लगानी सम्मेलनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले ३७ वटा आयोजना प्रस्ताव गर्ने उनको भनाइ छ। उनका अनुसार सोकेसमा रहेका ३७ आयोजनाको लागत १ खर्ब ४ अर्ब ८५ करोड रुपैयाँ छ। 

पहाडी क्षेत्रमा कोदोको रक्सी बनाउने देखि विराटनगरमा पाँचतारे होटेल निर्माणको लागि प्रस्ताव आह्वान गर्न लागिएको हो। त्यससँगै जलविद्युत, कृषि र पर्यटनमा लगानी ल्याउने कोशी सरकारको तयारी छ। 

२ अर्ब ५१ करोडका ६ वटा कृषि र १३ अर्ब १२ करोड बराबरको ११ वटा पर्यटनसम्बन्धी आयोजना छन्। १ अर्ब १७ करोडका २ वटा जलविद्युत् आयोजनाहरू समेटिएका छन्। ६२ अर्ब ६५ करोडका ८ उद्योग, २४ अर्ब ४३ करोडका पूर्वाधार, ४७ करोडको डाटा सेन्टर स्थापना गर्ने र फोहोर व्यवस्थापनका लागि एउटा ५० करोडको योजना प्रस्ताव गरिएको छ। 

इलामको जितपुरमा देउमाई कफी फार्म, ३३ करोडको लगानीमा डेरी प्रोडक्ड एण्ड प्रोसेसिङ उद्योग र एडभान्स नेप्लिज टी एण्ड कफी उद्योग समेटिएका छन्। १ अर्ब लगानीमा बुद्धपार्क चित्रे गुम्बा केबलकार प्रोजेक्ट र ८० करोड लगानीमा कन्याम मनोरेल प्रोजेक्ट प्रस्ताव हुने भएका छन्। त्यस्तै १ अर्ब ५० करोडको लगानीमा इलामको कन्याम अन्तु केबलकार प्रोजेक्ट निर्माणको पनि लगानी प्रस्तावको तयारी छ। 

धनकुटाको साँघुरीगढीमा किवी फार्मिङ प्रोसेसिङ उद्योग र धनकुटामै ६४ करोड लागतको एभोकार्डो फार्मिङ प्रोसेसिङ उद्योगमा लगानीको आह्वान गर्न लागिएको हो। ३० करोडको लगानीमा भेंडेटार मल्टिपर्पोज कम्प्लेक्स, ३५ करोडमा धनकुटाको राजा ताल टुरिजम प्रोजेक्ट र सहिदभूमिमा २७ करोडको सिट्रस फ्रुट्स फार्मिङ प्रोसेसिङ उद्योग समेटिएका छन्।

सोलुखुम्बुमा ६२ करोडमा आमादब्लाम मिनी हाइड्रो परियोजना र मेन्जोखोला मिनी हाइड्रोको प्रस्ताव छ। सोलुखुम्बुमै ४० करोडको चिउरीखर्क नाम्चे रोपवे निर्माण र चौंरीखर्च छेदिङमा केबलकारको लागि १ अर्ब ५० करोडको लगानीको प्रोजेक्ट सोकेसमा राखिएको छ। 

मोरङमा १ अर्ब १६ करोडको लगानीमा हर्बल प्रोसेसिङ प्रोजेक्ट उद्योग र ४ अर्ब ८० करोडको लगानीमा मल्टिपर्पोज कमर्सियल कम्प्लेक्स प्रस्तावको तयारीमा छ कोशी सरकार। २ अर्ब ३० करोड र १ अर्ब ७५ करोडको लगानीमा दुई वटा फाइभ स्टार होटेलको प्रस्ताव तयार पारिएको छ। मोरङमै २८ करोडको विराटनगर पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट, ५ अर्बको कोशी पोडवे देखि बेलबारीमा २४ करोडको बेतना सिमसार टुरिजम प्रोजेक्ट समेटिएका छन्। 

सुनसरीमा ९ करोडको एग्रो प्रोसेसिङ सेन्टर उद्योग देखि २ अर्ब लगानीको कोशी रिफ्रेसमेन्ट सेन्टरको लगानी प्रस्ताव तयार भएको छ। ४ अर्ब २८ करोड लगानी हुने बर्जू ताल टुरिजम, ८० करोडको रास ताल टुरिजम र २५ करोडमा वाटर पार्क निर्माणको परियोजना समेटिएका छन्। सुनसरी र उदयपुरमै २६ अर्बको ग्रिन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट छ। 

उदयपुरमा ३२ अर्बको उदयपुर किङ्कर र २ अर्बको बायो इथानोल प्रोजेक्टमा लगानी प्रस्तावको तयारी छ। पहाडी जिल्लाहरू लक्षित गरी ४० करोडको लगानीमा कोदोको रक्सी उद्योगको आयोजना प्रस्तुत गरिने भएको छ।

झापामा ६० करोडको लगानीमा बायो फर्टिलाइजर प्रोडक्सन एण्ड रिसर्च प्रोजेक्ट उद्योग, मेचीनगरमा ५० करोडको इन्टग्र्रेटेड सोलिड वेस्ट म्यानेजमेन्ट प्रोजेक्ट, र ४० करोडको बसपार्क समेटिएका छन्। खोटाङको हलेसीमा १० अर्बको हलेसी केबलकार/पोडवे, २५ करोडको लगानीमा डाटा सेन्टर स्थापना, २२ करोडको डिजिटल कोशी परियोजनामा लगानी ल्याउने सरकारको तयारी छ।  

एक खर्ब ४ अर्ब ८५ करोडको लगानी प्रस्ताव गर्न लागेको कोशी सरकारले आयोजना छनोट गरेर निर्देशक समितिमा पठाइसकेको छ। सिइओ कोइरालाका अनुसार आयोजना निर्माणका लागि लगानीकर्तासँग सम्मेलनकै अवसरमा एमओयू गर्ने तयारी भएको छ। माघ ११ गते सम्मेलनको उद्घाटनपछि रात्रि भोज राखिने र दोस्रो दिन परियोजनाको विषयमा छलफल हुने भएको छ।


प्रकाशित : शुक्रबार, पुस ५ २०८११७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend