पर्सा- १ हजार ५ सय कन्टेनर राख्ने क्षमता रहेको पर्सास्थित सिर्सिया सुक्खा बन्दरगाहमा अहिले २ हजार ७ सय ५५ कन्टेनर थुप्रिएका छन्। वर्षौँदेखि खाली कन्टेनर फिर्ता पठाउन नसक्दा बन्दरगाह नै भरिएको छ।
कोरोनाकालदेखि नै थुप्रिएका कन्टेनरको उचित व्यवस्थापन नहुँदा सुक्खा बन्दरगाहमा कन्टेनर संख्या बढ्न गएको हो।
सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख धनबहादुर बरुवालका अनुसार हिजो बिहीबारसम्म बन्दरगाह परिसरमा १ हजार ७ सय ६५ खाली र ९ सय ९० मालबाहकसमेत गरी २ हजार ७ सय ५५ कन्टेनर राखिएका छन्। जसमा २० फुटे खाली कन्टेनरको संख्या १ हजार ३ सय ७४ र ४० फुटे खाली कन्टेनरको संख्या ३ सय ९१ रहेको छ।
त्यस्तै मालवस्तुले भरिएको २० फुटे कन्टेनरको ७ सय ६० र ४० फुटे कन्टेनरको संख्या २ सय ३० रहेको छ। यी अधिकांश कन्टेनर भारत बिशाखापटनम बन्दरगाहबाट आएका हुन्।
नेपालमा कन्टेनर ल्याएर फिर्ता नपठाएपछि भारतीय र्याक ढुवानीकर्ता कम्पनीहरूले ताकेता गर्दै आएका छन्। नेपालमा आएका कन्टेनर फिर्ता नपठाएपछि उनीहरूले सहजीकरण गरिदिन भारतको कोलकातामा रहेको नेपालको महावाणिज्यदूतावासमा आग्रह गर्दै आएका छन्।
एकातिर नेपालको बन्दरगाह नै भरिनेगरी कन्टेनर थुप्रिने अर्कोतिर भारतमा नेपाली व्यवसायप्रति अविश्वास बढ्न थालेपछि व्यवस्थापन र सहजीकरणका लागि छलफल अघि बढेको अधिकारीहरूले बताएका छन्।
सुक्खा बन्दरगाह प्रमुख बरुवालका अनुसार कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको पहलमा रेल्वे र्याक ढुवानीकर्ता कम्पनीहरू र शिपिङ लाइन कम्पनीहरूसँग समन्वय गरी बन्दरगाहमा रहेका खाली कन्टेनर भारतीय बन्दरगाहमा फिर्ता पठाउन समझदारी बनेको छ।
आयातमा प्रतिबन्ध लागेका वस्तुको आयात भएका, भन्सार जाँचपास नभएका वस्तुलाई लिलाम गरेर र्याक फिर्ता गर्न कठिन भइरहेको छ। आर्थिक ऐनमा थप व्यवस्था नभएकाले भन्सार ऐनको व्यवस्थाअनुसार फिर्ता गर्न मिल्दैन। यही भएर नीतिगत निर्णय सरकारबाट नहुँदासम्म फिर्ता हुन कठिन भएको छ।
भन्सार विभागका महानिर्देशक हरिशरण पुँडासैनीले इन्टरमोडल यातायात विकास समिति र सुक्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिष्टिन भ्यालीका अधिकारीहरूसँग समस्याको निकास निकाल्न छलफल गरेको र केही दिनभित्रै यो समस्या समाधान हुने बताए। आवश्यकताभन्दा बढी कन्टेनरलाई व्यवस्थापन गर्ने कार्य भइरहेको उनको भनाइ छ।
‘संख्याको हिसाबले बन्दरगाह परिसरमा एक हजार बढी कन्टेनर छन्,’ उनले भने, ‘रोलिङ सिष्टममार्फत थुप्रिएका कन्टेनर र्याक फिर्ता पठाउने काम भइरहेको छ।’
हाल भारतीय रेल्वेको भगिनी संस्था कोंकरबाहेक निजी क्षेत्रका अन्य कम्पनीले पनि भारतीय बन्दरगाहहरूबाट रेल्वे र्याकमा कन्टेनर ल्याउने गरेका छन्। उनीहरूबीचको आपसी समझदारीमा सञ्चालित ‘रोटेशन प्रणाली’ प्रभावकारी नहुँदा यस्तो समस्या आएको इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका प्रमुख कमल ज्ञवालीले बताए।
यस बन्दरगाहमा कोंकरबाहेक प्रिष्टिन, डिपि वर्ल्ड, हिन्द टर्मिनल्स, बक्स ट्रान्सलगायतका कम्पनीले भारतको कोलकाता, हल्दिया र बिशाखापटन बन्दरगाहबाट रेल्वे र्याक ल्याउने र पुनः खाली कन्टेनर फिर्ता लग्ने गरेको उनले जानकारी दिए। मालबाहक कन्टेनर निरन्तर आउने र त्यही दरमा खाली कन्टेनर फिर्ता नजाने प्रवृत्तिले बन्दरगाहमा खाली र्याकको संख्या बढ्न गएको उनको भनाइ छ।
आयातकर्ताले समयमा मालबाहक कन्टेनर नलग्ने र लगिहाले पनि खाली कन्टेनर समयमा फिर्ता नल्याउने प्रवृत्तिले निजी क्षेत्रका कम्पनीले चलाएको रोटेशन प्रणाली प्रभावकारी हुन नसकेको उनले बताए।
उनका अनुसार ५ कम्पनीले पालैपालो गरी मालबाहक कन्टेनर बोक्ने रेल्वे र्याक ल्याउने र फर्किँदा खाली कन्टेनर लग्ने गर्छन्। यी कम्पनीले आपसी समझदारीमा यो प्रणाली चलाएपनि कतिपय रेल्वे र्याक खाली कन्टेनर नै नबोकी रित्तो फिर्ता जाने गर्दा कन्टेनर थुप्रिने संख्यामा वृद्धि हुन गएको उनको भनाइ छ। एउटा र्याकले एक पटकमा ९० वटा खाली वा मालबाहक कन्टेनर बोक्ने गरेको उनले बताए।
बन्दरगाहमा हाल क्षमताभन्दा झण्डै दोबर कन्टेनरको चाङ लागेकोले यसले गर्दा यार्डको व्यवस्थापनमा समेत जटिलता बढ्दै गएको ज्ञवालीको भनाइ छ।
अहिले बन्दरगाह परिसर मालवस्तु राखिएको तथा खाली कन्टेनरले भरीभराउ देखिएको अधिकारीहरूले जानकारी दिए। लकडाउनकै बेलादेखि सुक्खा बन्दरगाह परिसरमा ३/४ सय खाली कन्टेनर थुप्रिएको अधिकारीहरूको भनाइ छ।
सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकारी मातृका भट्टराईले बन्दरगाहमा चाङ लागेका कन्टेनरलाई थुप्रिएको भन्न नमिल्ने बताए। ‘कन्टेनरहरू आउने जाने क्रम चलिरहेको छ,’ उनले भने, ‘पछिल्लो समय यार्डमा कन्टेनरको संख्या बढेको छ तर यसलाई अड्केको वा थुप्रिएको भन्न मिल्दैन।’ खाली कन्टेनर फिर्ता पठाउने कार्यमा अधिकारीहरू जुटेको उनले जानकारी दिए।
भिडियो हेर्नुहोस् -