बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

हुलास मोटर्सको दु:खान्त : बाबुरामले चर्चा कमाएको ‘मुस्ताङ म्याक्स’ कसरी हरायो?

images
शुक्रबार, पुस ५ २०८१
images
images
हुलास मोटर्सको दु:खान्त : बाबुरामले चर्चा कमाएको ‘मुस्ताङ म्याक्स’ कसरी हरायो?

हुलास मोटर्सलाई चलायमान बनाउन अहिले ई-रिक्सा र कार्गो भेहिकल निर्माण भइरहेको छ। ठूलो बजार नभए पनि ई-रिक्साका नयाँ मोडलमा लन्च गर्ने तयारीमा छ हुलास मोटर्स।

images
images

इटहरी- विराटनगरमा रहेको हुलास मोटर्सको कारखानामा चहलपहल छैन। सीमित कर्मचारीहरू कार्यालयमा टहलिएका हुन्छन्। नेपालकै पहिलो गाडी उत्पादन कारखानाको उराठलाग्दो हबिगत देखिन्छ।

images
images
images

कुनैबेला चर्चाको शिखरमा रहेको ‘मुस्ताङ म्याक्स’ गाडी उत्पादन गर्ने हुलास मोटर्स निभ्न लागेको दियोजस्तो भएको छ। बत्ती निभ्न नदिन उद्योगी सुरेन्द्र गोल्छाले तेल थप्ने प्रयास भने गरिरहेका छन्।

images

बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि नेपालमै उत्पादन भएको गाडी चढेर चर्चा कमाए। नेपालमै बनेको गाडी चढेपछि भट्टराईमात्र चर्चामा रहेनन् रहेनन् गाडीको चर्चा पनि व्यापक भयो। प्रधानमन्त्री बन्ने तयारी रहँदै गाडी अर्डर गरेका भट्टराईकै कार्यकालमा गाडीको उत्पादन बन्द हुने अवस्थामा पुग्यो।

images
images
images

हुलास मोटर्सले हुलास एग्रो इन्जिनियरिङबाट गाडीको उत्पादन सुरु गर्‍यो। कृषि उपज उपकरणको बहुउपयोगी सामग्री तयार गर्दागर्दै गाडी बन्यो। पम्प इन्जिनलाई चेसीस बनाएर पम्प, थ्रेसर र गाडी पनि चलाउने प्रयासमा सफल भयो हुलास मोटर्स। त्यसमा बिस्तारै समस्या देखा पर्न थाल्यो। त्यसपछि त्यही इन्जिनलाई परिष्कृत गर्दै जाँदा गाडीको रूपमा इन्जिन विकास भएको सञ्चालक सुरेन्द्र गोल्छा बताउँछन्।

hulas motors2.jpg
हुलास मोटर्सको धमिलिएको बोर्ड।

१० एचपी इन्जिनको ‘पावर कार्ट’ नामको गाडी उत्पादन भयो। गाडी बनेपछि केही मात्रामा बिक्री पनि भयो। उत्पादनको अनुमति दिने निकायसमेत नभएको अवस्थामा बनेको गाडीको नम्बर लिन तीन वर्षभन्दा धेरै लागेको सुरेन्द्रको अनुभव छ। पावर कार्टको अनुभवले उत्साहित सुरेन्द्र अर्को गाडी बनाउनतर्फ होमिए।

surendra golchha - hulas motors.jpg
सुरेन्द्र गोल्छा।

पम्प, थ्रेसर र गाडी तीनवटै प्रयोग गर्दा समस्या देखा पर्‍यो। त्यसपछि २० एचपी इन्जिनको ‘शेर्पा’ निर्माण भयो। पावरकार्टमा हेडलाइट नभए पनि शेर्पामा हेडलाइट, ब्रेक र मोटर थप भयो।

पहिलो गाडीको पावर कम भएपछि दोस्रो भर्सनको गाडी उत्पादनमा लाग्यो हुलास मोटर्स। धेरै सुधार भएपछि ३२ डी शेर्पा निस्कियो। पहाड चढ्न असहज भएपछि पुनः ४६ डीको उत्पादन सुरु भयो। चारसय हाराहारीमा शेर्पा गाडी उत्पादन र बिक्री भएको बताउँछन् सुरेन्द्र।

hulas motors - sherpa gadi.jpg
शेर्पा।

कृषि उपकरण बनाउँदा सुरु भएको गाडी उत्पादनको यात्रा शेर्पा हुँदै ‘मुस्ताङ म्याक्स’सम्म पुग्यो। मुस्ताङलाई हलुका र बलियो बनाउन भरमग्दुर प्रयत्न गरे उनले।

मुस्ताङमा फाइबर ग्लासको बढी प्रयोग भयो। पहाडमा गुड्न सक्ने भएकाले गाडीको नाम पनि मुस्ताङ राखियो। २२ लाख रुपैयाँका ७ सयभन्दा बढी मुस्ताङ गाडी उत्पादन र बिक्री भएको सुरेन्द्रको भनाइ छ। त्यसैमध्येको एउटा गाडी हुलास मोटर्सको कार्यालय प्रयोजनमा चलिरहेको छ।

मुस्ताङ एक हदमा सफल भयो। गाडीको परिष्कृत विकासको लागि धेरैपटक चीन र भारत गएको सुनाउँछन् सुरेन्द्र। मुस्ताङको चर्चा चुलिँदै गएपछि सरकारले गाडीले पाउँदै गरेको ५० प्रतिशत अन्तःशुल्क छुट हटायो। जसले गर्दा गाडीको मूल्य बढ्यो।

hulas motors - power cart.jpg
हुलास पावर कार्ट।

हुर्कन नपाउँदै मुना निमोठ्ने काम बाबुराम नेतृत्वको सरकारले गरेको बताउँछन् सुरेन्द्र। सस्तो लोकप्रियताको लागि मात्र बाबुरामले मुस्ताङ प्रयोग गरेको उनको बुझाइ छ।

त्यही बीचमा सरकारले २०६९ सालमा युरो थ्रीको अवधारणा कार्यान्वयनमा ल्याउने भयो। युरो थ्रीको रेगुलेसन सरकारले ल्याउने भएपछि सुरेन्द्र सिंहदरबार धाउन थाले। सरकारले एक वर्षको समय दिएर युरो थ्री लागु गर्ने अडान लिए पनि सुरेन्द्रले तीन वर्षको अवधि माग गरे। सरकारी निकाय उनको आग्रह सुन्ने मनस्थितिमा थिएन। उद्योग मन्त्रालयको डिजीसँग कुरा गर्दा हुनै नसक्ने कुरा गरेको बताउँछन् उनी।

‘५० पटक सिंहदरबार गए पनि काम भएन। पछि उत्पादन बन्द भयो। नेपालमै उत्पादित गाडी उद्योग बन्द हुँदा सरकारलाई कुनैपनि असर गरेन’ सुरेन्द्रले भने।

hulas motors -.jpg
मुस्ताङ।

बहुराष्ट्रिय कम्पनीसँगको प्रतिस्पर्धामा आउन नसक्ने भयो मुस्ताङ म्याक्स। प्रतिस्पर्धामा आउन नसकेपछि उत्पादन बन्द गर्ने अवस्थामा पुगेको अनुभव सुनाउँछन् सुरेन्द्र।

उद्योग देशको सम्पत्ति हो भन्ने सरकारले नसोचेको उनको गुनासो छ। ‘हार खाएर छाडियो। मलाई पनि इगो थियो। पैसा दिएर काम लिन्नँ भन्ने अडानमा थिएँ म। यो देशको कम्पनी हो भन्ने मलाई लागेको थियो,’ निराश मुद्रामा उनले भने।

hulas motors - ev.jpg

बन्द हुँदै गर्दाको अनुभवले उनको मन अमिलो हुन्छ। कुराकानीको क्रममा त्यसको भाव सुरेन्द्रको अनुहारमा झल्किन्छ। नाफा घाटाकोभन्दा पनि हुलास मोटर्समा देखेको सपना र मेहनतले पिरोलिन्छन् उनी।

थप प्रस्ट पार्दै उनले भने, ‘मेरो त्योबेला २५ वर्षको लगानी भइसकेको थियो। लस मेकिङ कम्पनी थियो। त्यसबेला पनि ५ करोड लस भइसकेको थियो। नाफा आउने आश थिएन। प्यासनले मात्र चलेको थियो तर सन् २०१५ देखि उत्पादन नै बन्द गर्ने निर्णयमा पुगेँ म।’

hulas motors - eriksa.jpg
ई-रिक्सा

हुलास मोटर्सलाई चलायमान बनाउन अहिले ई-रिक्सा र कार्गो भेहिकल निर्माण भइरहेको छ। ठूलो बजार नभए पनि ई-रिक्साको नयाँ मोडल लन्च गर्ने तयारीमा छ हुलास मोटर्स।

नेपालमा विद्युतीय गाडीको चर्चा हुनुपूर्व नै १८ वर्ष अगाडि इलेक्ट्रिक भ्यान हुलास मोटर्सले उत्पादन गरेको थियो। त्यसैमध्येका दुईवटा कार हाल गोदाममा थन्किएका छन्। बाँकी एउटा कम्पनीको प्रयोजनमा चलिरहेको छ। पछिल्लो समय लिथियम ब्याट्री र लिड एसिड ब्याट्रीको तयारी भइरहेको सुरेन्द्रले बताए।

भिडियोमा हेर्नुहोस् -


प्रकाशित : शुक्रबार, पुस ५ २०८११०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend