काठमाडौं- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं जोरपाटी बस्ने धनुषाका ३८ वर्षीय राजकुमार चौधरी र धनुषा घर भइ काठमाडौंको गौशाला बस्ने ३९ वर्षीय रूपेश कुमार चौधरी रहेका छन्।
पक्राउमध्ये राजकुमारले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ३० हजार रूपैयाँ र रूपेश कुमारले सिंगापुर पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ लिइ सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजलाई काठमाडौं काँडाघारीबाट मंगलबार र रूपेशलाई काठमाडौं टेकुबाट बुधबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ।