बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

महोत्सवको याम : व्यापार बढ्ने आश

images
मंगलबार, पुस २ २०८१
images
images
महोत्सवको याम : व्यापार बढ्ने आश

पछिल्लोपटक बजारमा आर्थिक गतिविधि सुस्ताइरहेका बेला आयोजना गरिने मेलामहोत्सवले व्यापारीलाई पनि राहत पुग्ने गरेको छ।

images
images

गण्डकी- हिउँद लागेसँगै मेलामहोत्सवको माहोल सुरु भएको छ। दसैँतिहार जस्ता ठूला चाडपछि देशैभर महोत्सवको लहर नै चल्छ। मेलामहोत्सवले स्थानीय अर्थतन्त्रलाई केही हदसम्म भए पनि गतिशील बनाउन मद्दत पुग्ने आयोजक बताउँछन्। पछिल्लोपटक बजारमा आर्थिक गतिविधि सुस्ताइरहेका बेला आयोजना गरिने मेलामहोत्सवले व्यापारीलाई पनि राहत पुग्ने गरेको छ।

images
images
images

बिसौँ संस्करणको लेखनाथ महोत्सव आयोजना गर्न लागेको कास्कीको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले महोत्सव राख्नुको मूल ध्येय पर्यटन र व्यवसाय प्रवर्द्धन रहेको बताए। 'स्थानीय उत्पादनसहित वस्तु तथा सेवाको किनमेल हुने हुँदा महोत्सव व्यवासायीका लागि पनि एउटा अवसर हो', उनले भने।

images
images

संघले यही पुस १८ देखि आगामी माघ १ गतेसम्म लेखनाथ महोत्सव आयोजना गर्दैछ। उक्त महोत्सवका लागि हालसम्म ७५ प्रतिशत व्यावसायिक कक्ष बुकिङ भइसकेको आयोजकले जनाएको छ। महोत्सवमा ३३६ ‘स्टल’ रहनेछन्।

images
images
images

महोत्सवमा कृषिजन्य उत्पादन, हस्तकलालगायतका प्राथमिकता दिइएको संघका अध्यक्ष श्रेष्ठले बताए। स्थानीय उत्पादन, खेल, कला, संस्कृति, पर्यटन र व्यवसाय प्रर्वद्धनको उद्देश्यसहित मेलामहोत्सवको आयोजना हुने गरेका छन्। 

पर्यटकीय राजधानी पोखरामै १३औँ संस्करणको पोखरा महोत्सव पनि यही पुस २५ देखि माघ ७ गतेसम्म आयोजना हुने भएको छ। पोखरा महोत्सवको आयोजक युनाइटेड क्लबका पूर्वअध्यक्ष राजु श्रेष्ठले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन मेलामहोत्सवले टेवा पुग्ने बताए।

'महोत्सवले आर्थिक गतिविधि बढ्छ, दर्शकले पनि स्वस्थ मनोरञ्जनको लाभ लिन पाउँछन्', उनले भने, 'विभिन्न कारणले सुस्ताएको व्यवसाय क्षेत्रलाई महोत्सवबाट थोरै भए पनि राहत पुग्छ।'

महोत्सवबाट व्यावसायिक नाफाघाटा मात्र नसोचेर क्लबले सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको उनले बताए। क्लबले महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवर्द्धनलगायत काममा खर्च गर्दै आएको छ।

अङ्ग्रेजी नयाँ वर्षको छेकोमा बर्सेनि पोखरामा आयोजना हुने अर्को महोत्सव हो, पोखरा सडक महोत्सव । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराको आयोजनामा यस वर्ष २६औँ पोखरा सडक महोत्सव हुने भएको छ। ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने आदर्श वाक्यका साथ यही पुस १३ देखि १७ गतेसम्म सडक महोत्सव हुन लागेको महोत्सवका संयोजक विकास भट्टराईले जानकारी दिए।

फेवा किनारमा आयोजना गरिने उक्त महोत्सव पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण रहँदै आएको छ। महोत्सवमा मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगिता रहेका आयोजकले जनाएको छ।

यस वर्ष लमजुुङबाट कृष्ण चरित्रका साथै भोजपुरी नृत्य आदि सांस्कृतिक प्रस्तुतिका साथै छिमेकी राष्ट्र भारत र चीनका सांस्कृतिक प्रस्तुतिसमेत रहने महोत्सवका संयोजक भट्टराईले बताए। माघे सङ्क्रान्ति पर्वको अवसर पारेर म्याग्दी उद्योग वाणिज्य संघले पनि आठौँ म्याग्दी महोत्सव एवं माघे सङ्क्रान्ति मेलाको आयोजना गरेको छ।

माघे सङ्क्रान्तिमा म्याग्दीको बेनीमा लाग्ने मेला दशकौँ पुरानो मेला हो। पछिल्लो समय उद्योग वाणिज्य संघले त्यसलाई महोत्सवका रुपमा परिस्कृत गर्दै लगेको हो। चाडपर्वको मौकामा आयोजना गरिने स-साना मेलाउत्सवले पनि गाउँघरमा उस्तै रौनक थपिरहेका छन्। माघे सङ्क्रान्ति पारेर बागलुङको जैमिनी र पोखराको ढुंगेसाँघुमा मेलाको आयोजना  गरिँदैछ। दुवै मेला इतिहास र परम्परासँग जोडिएका छन्। यसै पनि हिउँद मेलामहोत्सवको याम हो। गण्डकी प्रदेश पनि महोत्सवमय बनिरहेको छ। 

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा नवलपुरको गैँडाकोटमा गत कात्तिक २६ गते सुरु भएर मङ्सिर १६ गतेसम्म महोत्सव सञ्चालन भएको थियो। महोत्सवको अगुवाइ गर्नेमा व्यवसायी र पर्यटन सम्बद्ध संघसंस्था, स्थानीय क्लबलगायत छन्। महोत्सवमा जातीय वेशभुषा, संस्कृति झल्काउने मौलिक झाँकी तथा नाच प्रस्तुत गर्ने गरिएको छ। औद्यागिक उत्पादन, हस्तकला, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्री कक्ष पनि राख्ने गरिएको छ।

कलाकारलाई पनि महोत्सवमा भ्याइनभ्याइ हुने गर्छ। कलाकारको व्यावसायिक लाभका लागि महोत्सव महत्वपूर्ण माध्यम बनेको छ। महोत्सवले गाउँघरको संस्कृतिलाई पनि सहरसम्म ल्याइ पुर्‍याउँछ।

जातजातिका मौलिक वेशभूषासहितका नाच र झाँकीले महोत्सवमा उल्लास थप्ने गरेको छ। लोपोन्मुख र दुर्लभ संस्कृति महोत्सवमा देखाउन आयोजक आफै पनि लालयित हुन्छन्। पैसा खर्चेर भए पनि त्यस्ता सांस्कृतिक नाच र झाँकीलाई आयोजकले महोत्सवमा ठाउँ दिइरहेका हुन्छन्। रासस


प्रकाशित : मंगलबार, पुस २ २०८११४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend