काठमाडौं- नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कमिसन मोहका कारण दुईवटा एयरलाइन्सको अनिवार्य आवधिक परीक्षण (सी-चेक) प्रभावित हुने जोखिम बढेको छ।
कमिसनका लागि उपयुक्त कम्पनीलाई नै टेन्डर दिनका लागि अध्यक्ष अधिकारी र नायब महाप्रबन्धक डोलेश्वर कोइरालाका कारण दुईवटा एयरबस न्यारोबडी जहाजको परीक्षण नै प्रभावित भएर नियमित उडान तालिका नै बिग्रने जोखिम बढेको हो।
सी-चेकका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गर्नुपर्ने व्यवस्था रहेको छ। निश्चित समयमा गर्नुपर्ने यस्तो परीक्षणका लागि पूर्वनिर्धारित समयतालिका नै हुन्छ। यस्तोमा पनि हेलचक्रर्याँइ गरेर अन्तिम समय आउँदा पनि कम्पनी छनोट हुन सकिरहेको छैन। कम्पनी छनोटको टेन्डर प्रक्रिया सुरू भएकै ११० दिन हुँदासम्म पनि अन्यौल कायमै रहेको छ।
दुईमध्ये एउटा जहाजको उडान घण्टा अब ७५ घण्टामात्र रहेको छ। सी-चेक नगरी उडान गर्न नमिल्ने हुन्छ। ‘नाइन एन-एकेडब्लू’ संकेतको जहाज अब ७५ घण्टामात्र उडान गर्न पाइन्छ, यो पनि न्यून क्षमतामा उडाएर।
उडान घण्टा सकिन लागेको अवस्था र अर्कोतिर कम्पनी छनोट हुन नसकेपछि कार्यकारी अध्यक्ष अधिकारीकै योजनामा दुईवटै न्यारोबडीको उडान अवधि सीमित पारिएको छ। अहिले नै कम्पनीलाई नोक्सान पुर्याउँदै अझै धेरै क्षति गराउनेतिर अधिकारी अग्रसर देखिएका छन्।
कुनै पनि जहाज कति घण्टा उडेपछि सी-चेक गर्नुपर्छ भन्ने पहिले नै थाहा हुन्छ। त्यतिमात्र होइन एक दिनमा जहाज कति उड्छ र कति समयमा सीचेक गर्नुपर्छ भन्ने पूर्वअनुमानित नै हुन्छ। यस्तो कुरामा पनि अधिकारीको कमिसन मोहका कारण खेलबाड भएको छ। कार्यकारी अध्यक्ष अधिकारीले कमिसनका लागि अयोग्य कम्पनीलाई टेन्डर दिन यो सबै प्रपञ्च गरिरहेको पाइएको छ।
म्याटर ट्रेडिङ नामको कम्पनी तीन महिना पहिलेसम्म आयात निर्यातका लागि काम गर्ने उद्देश्यले दर्ता भएको थियो। यो कम्पनीले त्यस्तै काम गर्दै पनि आएको थियो। यसले नेपाल एयरलाइन्सकै अन्य काम पनि गरिरहेको थियो। जसमा अधिकारीसँग राम्रै तालमेल पनि मिलेको थियो। तर एक्कासी सी-चेक पनि यही कम्पनीलाई दिलाउन अधिकारी र कोइरालाले योजना बनाए।
म्याटर ट्रेडिङको कम्पनीको उद्देश्य नै फरक थियो। अर्कोतिर टेन्डर आह्वान भइसकेको थियो। निगमले न्यारोबडी जहाज सी-चेक (५ सी र ६सी) का लागि कम्पनी छनोट गर्न भन्दै पहिलो पटक २०२४ को अगस्टमा सूचना प्रकाशित गरेको थियो।
उक्त सूचनाअनुसार इन्डिमार कम्पनीले प्रस्ताव पेस गरेको थियो। तर अधिकारीले अक्टोबर १० मा आएर टेन्डरको सयम १५ दिन थप गरिदिएका थिए। उक्त टेन्डरको सबै प्रक्रिया नोभेम्बरमा रद्द गर्दै नोभेम्बर ८ मा पुन: सूचना प्रकाशित गरियो। त्यो बीचमा म्याटर ट्रेडिङले आफ्नो कम्पनीको उद्देश्य पनि परिवर्तन गरायो। त्यसपछि म्याटरले पनि टेन्डर हाल्यो। कम्पनीले कात्तिक १३ गते कम्पनी रजिष्ट्रारमा उद्देश्य परिवर्तन गराएर 'जहाज मर्मतसम्भार' पनि राखेको थियो।
नोभेम्बर ८ मा भएको टेन्डरमा ४ वटा कम्पनीले आवेदन दिए। जसमा भारतीय कम्पनी इन्डिमार, एयरवर्क साथै दुईवटा वाइडबडी सी-चेक गरेको कम्पनी एटिटेक र म्याटर ट्रेडिङ सहभागी भए। मूल्यांकन कमिटीलाई तीनवटालाई अयोग्य ठहर गरे म्याटर ट्रेडिङलाई ठेक्का सुम्पिनेगरी काम गर्न अधिकारी र कोइरालले दबाब दिए। तर तीनवटा कम्पनी प्राविधिक रुपमा सफल थिए।
म्याटर ट्रेडिङको केही पनि विवरण मिलेको थिएन। उसले एयर इन्डिया कम्पनीसँगको सहकार्यका जहाज सी-चेक गर्न भनेर ठेक्कामा सहभागिता जनायो। तर एयर इन्डियाले उसलाई आधिकारिक एजेन्ट भएको प्रमाण पनि दिएको थिएन। यहाँसम्म कि उसले एजेन्ट नै दिन पाउँदैन।
सबै नक्कली विवरण राखेर ठेक्कामा सहभागी भएको कम्पनीलाई टेन्डर दिलाउन अधिकारी र कोइराला लागि परिरहे। एयर इन्डियाले पाउँदै नपाएको सिक्स-सी को अनुमतिको प्राधिकार देखाउँदै म्याटरले फर्जी दाबी गरेको छ।
मूल्यांकन कमिटीले अधिकारीले भनेअनुसार काम नगर्ने अडान लिएपछि पुन: ठेक्का रद्द गरेर डिसेम्बर १ मा पाँच दिनको समय दिएर सूचना जारी भयो। उक्त सूचनामा पाँचवटा कम्पनीले आवेदन दिए। पुरानो चारवटा र चाइन साउर्थन समेत ठेक्कामा सहभागी भयो। अहिले पनि म्याटर ट्रेडिङलाई एयर एन्डियाले कुनै एजेन्टको प्रमाणपत्र दिएको छैन। एयर इन्डियाले आफ्नो लोकल प्रतिनिधि भएकोसमेत प्रमाणित गरेको छैन।
एयर एन्डियाले लोकल प्रतनिधिको प्रमाणपत्र दिएपनि मुख्य कम्पनी एयर इन्डिया नै भएर आउनु पर्ने छ। म्याटर ट्रेडिङलाई जहाज मर्मत गर्न दिनमिल्ने कुनै आधार छैन।
अधिकारी र कोइरालाले अहिले अन्य चारवटै कम्पनीलाई प्राविधिक रुपमा अयोग्य बनाएर म्याटर ट्रेडिङलाई प्राविधिक रुपमा सफल कम्पनी बनाउँदै आर्थिक प्रस्ताव माग्न दबाब दिइरहेका छन्। म्याटर ट्रेडिङका मालिक दीपक रेग्मी हुन्। रेग्मीले नेपाल एयरलाइन्सको पार्टपुर्जा आयात गर्दै अधिकारी र कोइरालालाई कमिसन दिँदै ठेक्का लिइरहेका छन्।
जहाज सी-चेक नै गर्न नसक्ने कम्पनीलाई टेन्डर दिलाउन अधिकारी र कोइराला लागिपरेका कारण प्रक्रिया नै अगाडि बढ्न सकेको छैन। आयात निर्यात गर्नका लागि भनेर दर्ता भएको म्याटर ट्रेडिङलाई ठेक्का सुम्पिन अधिकारी र कोइरालाले साढे ३ महिनादेखि प्रक्रिया लम्ब्याइराखेका छन्।
कुनै पनि भरपर्दो आधार नभएको, स्रोत र पूर्वाधार नभएको कम्पनी म्याटर ट्रेडिङलाई ठेक्का दिनका लागि दुईवटा जहाजको उडान क्षमतालाई सीमित पारिएको छ। अर्कोतिर कमिसनको मोहमा भविष्यको उडान प्रभावित बनाउनेतिर कार्यकारी अध्यक्ष अधिकारी आफै अग्रसर भएका छन्।