मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

राष्ट्र बैंकको नीतिगत स्थिरताले बैंकहरूको ब्याजदर घटेन, पुसमा पनि अधिकांशले मंसिरकै ब्याजदरलाई दिए निरन्तरता

आइतबार, मंसिर ३० २०८१
राष्ट्र बैंकको नीतिगत स्थिरताले बैंकहरूको ब्याजदर घटेन, पुसमा पनि अधिकांशले मंसिरकै ब्याजदरलाई दिए निरन्तरता

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत कुनै पनि नीतिहरू परिवर्तन नगरेको असर बैंकहरूको पुस महिनाको ब्याजदरमा देखिएको हो।

काठमाडौं- बैंक वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर घटाउने क्रम रोकिएको छ। गत वर्षको कात्तिकयता बैंक वित्तीय संस्थाहरूले निरन्तररुपमा मुद्दती निक्षेप र कर्जाको ब्याजदर घटाउँदै आइरहेका थिए। 

निक्षेप संकलन बढेपनि कर्जा लगानी नबढेपछि बैंकहरूले निरन्तररुपमा ब्याजदर घटाउँदै आइरहेका छन्। राष्ट्र बैंकले निक्षेपको ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिने नीति लिएकाले बैंक वित्तीय संस्थाहरू निक्षेपको ब्याजदर थप नघटाउने पक्षमा देखिएका छन्। 

राष्ट्र बैंकले निक्षेप संकलन दर ३ प्रतिशत कायम गरेर तरलता खिचिरहेकाले बैंक वित्तीय संस्थाहरू साधारण बचतको ब्याजदर ३ प्रतिशत र मुद्दती निक्षेपको ब्याजदर ३ प्रतिशत वा सोभन्दा बढी कायम गर्न बाध्य छन्। 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत कुनै पनि नीतिहरू परिवर्तन नगरेको असर बैंकहरूको पुस महिनाको ब्याजदरमा देखिएको हो। 

राष्ट्र बैंकले ब्याजदर कोरिडोरअन्तर्गतका बैंकदर ६.५ प्रतिशत, नीतिगत दर ५ प्रतिशत र निक्षेप संकलन दर ३ प्रतिशतमा यथावत राखेकाले पनि बैंक वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर थप नघटाएका हुन्। 

यसै पनि बैंकहरूको निक्षेपको औषत ब्याजदर ५ प्रतिशत र कर्जाको औषत ब्याजदर ९.०८ प्रतिशतमा आइसकेकाले पनि अधिकांश बैंकहरूले पुरानै ब्याजदरलाई निरन्तरता दिएका हुन्। 

निक्षेपको ब्याजदर निरन्तररुपमा घट्दै गएपछि बैंकहरूको आधार दर घटेर ७ प्रतिशतभन्दा तल आइसकेको छ। कर्जा प्रवाह नबढेको भन्दै बैंकहरूले आधार दरमै कर्जा प्रवाह गरिरहेका छन्। 

असोज, कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर घटेकाले पुसमा कर्जाको ब्याजदर थप घट्ने देखिएको छ। पछिल्लो समय बैंकहरूले १० वर्ष अवधिसम्मको अधिकांश कर्जाहरू ८ देखि ९ प्रतिशतको बीचमा रहेर प्रवाह गरिरहेका छन्। 

पुसका लागि १४ वाणिज्य बैंकहरूले मंसिरकै मुद्दती निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका छन्। ३ बैंकले ले बढाएका छन् भने ३ बैंकले घटाएका छन्। पुसका लागि एनएमबि बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंकले ब्याजदर बढाएका छन्। यस्तै एनआईससी एसिया बैंक, सानिमा बैंक र नेपाल बैंक लिमिटेडले ब्याजदर घटाएका छन्। यसबाहेकका अन्य बैंकहरूले मंसिर महिनाको ब्याजदरलाई पुसमा निरन्तरता दिएका छन्।


प्रकाशित : आइतबार, मंसिर ३० २०८११२:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend