दाङ- यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन् भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन्।
घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत पाँचसय रूपैयाँदेखि आठसय रूपैयाँ र मुढा बनाएर मासिक चारदेखि पाँच हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।
उनीहरूले माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री बनाउने गरेका छन्। घरेलु तथा साना उद्योग कार्यालयबाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने आफन्ती तथा अन्यले खरिद गर्ने गरेका छन्।
घरेलुले पनि बिक्रीको व्यवस्था गरेको छ। साथै उक्त कार्यालयले सीप सिक्न चाहनेलाई तालिमको व्यवस्था पनि गर्दै आएको छ।
'उत्पादित सामग्रीको किनबेचको व्यवस्था यहीँबाट मिलाइन्छ, भेट्न आउने आफन्त तथा अन्यले किन्ने गरेका छन्', कार्यालय प्रमुख राठौरले भने। हरेक आइतबार, मंगलबार र बिहीबार कारागार बाहिर ‘स्टल’ नै राखेर बिक्रीको व्यवस्था मिलाइएको छ। एकसय जना क्षमताको कारागारमा चार सय १५ जना बन्दी छन्। रासस