काठमाडौं- विगत दुई वर्षदेखि शिथिल अर्थतन्त्रमा अहिले विस्तारै गति लिने संकेतहरू देखा पर्न थालेका छन्। कर्जा तथा निक्षेपको ब्याजदर न्यून बिन्दुमा आएसँगै उद्योगी व्यवसायी तथा लगानीकर्ताहरू उत्पादन र थप लगानी विस्तारतर्फ आकर्षित हुन थालेका छन्।
मंसिर लागेसँगै सरकारी निर्माणको कामले समेत केही गति लिन थालेको छ। आवासीय निर्माण कर्जाको ब्याजदर निकै सस्तो रहेकाले निजी घर निर्माणले समेत गति लिन थालेको छ।
निर्माण क्षेत्र चलायमान हुने संकेत देखेर नै उद्योगीहरूले सिमेन्ट तथा छडको मूल्य बढाएका छन्। सरकारले प्रकृया पुगेका निर्माण व्यवसायीको पुरानो बक्यौता रकम भुक्तानी गरिदिएको छ।
निर्माण तथा उत्पादनका कामहरूले तीब्रता पाएसँगै बैंक वित्तीय संस्थाहरूबाट चालु पुँजी कर्जाको माग बढेको छ। चालु आर्थिक वर्षको चार महिनामा बैंकिङ प्रणालीबाट करिब ४६ अर्ब कर्जा प्रवाह भएको छ।
गत वर्षको यसै अवधिमा २७ अर्ब ३६ करोड अर्थात ३ प्रतिशतले ऋणात्मक रहेको चालु पुँजी कर्जा यस वर्ष ६.३ प्रतिशतले सकारात्मक देखिएको छ। कुल चालु पुँजी कर्जामध्ये औद्योगिक क्षेत्रतर्फको चालु पुँजीकर्जा २९ अर्ब १७ करोड अर्थात १२.५ प्रतिशतले बढेको छ।
यस्तै व्यवसायतर्फको चालु पुँजी कर्जा १३ अर्ब ८४ करोड अर्थात ४.४ प्रतिशत र सेवा क्षेत्रतर्फको चालु पुँजी कर्जा ६ अर्ब अर्थात ४.५ प्रतिशतले बढेको छ। यस अवधिमा २ करोडसम्मको आवासीय कर्जा १० अर्ब २१ करोड रुपैयाँले बढेको छ। यसले पनि घर निर्माणको कामले तीब्रता पाउन थालेको देखाउँछ।
चालु आर्थिक वर्षको चार महिनामा रियल स्टेट कर्जा सकारात्मक देखिएको छ। गत वर्षको यसै अवधिमा करिब २ प्रतिशतले ऋणात्मक रहेको यस्तो कर्जा यस वर्ष ०.३ प्रतिशतले बढेको छ।
वर्तमान सरकार गठन भएयता सेयर बजारमा वृद्धि र करेक्सन एकसाथ देखा परिरहेको छ। अर्थतन्त्रको सर्पोट खोजिरहेको सेयर बजार आगामी समयमा बढ्ने अपेक्षा गर्न सकिन्छ।
चालु आर्थिक वर्षको चार महिनामा नै सेयर कर्जा करिब १७ अर्ब ६७ करोडले बढेको छ। गत वर्षको यसै अवधिमा ४ अर्ब ८५ करोड रुपैयाँमात्रै कर्जा प्रवाह भएको थियो। यस अवधिमा १ करोडसम्मको सेयर कर्जा सबैभन्दा बढी प्रवाह भएको छ।
१ करोडसम्मको सेयर कर्जा २७ प्रतिशतले बढ्दै १५ अर्ब १० करोड लगानी भएको छ। यस्तै ५ करोडदेखि १ अर्बसम्मको सेयर कर्जा १०.९ प्रतिशतले बढेको छ। गत वर्ष १९.१ प्रतिशतले ऋणात्मक रहेको हायरपर्चेज कर्जा पनि चालु आर्थिक वर्षको चार महिनामा २.१ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको चार महिनामा क्रेडिट कार्डमार्फत जाने कर्जासमेत १३.५ प्रतिशतले बढेको छ। यसले पनि बैंकबाट उदारो लिएर भएपनि उपभोग गर्ने प्रवृति बढिरहेको देखाउँछ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयात कर्जा २२.१ प्रतिशितले बढेको छ। खासगरी औद्योगिक उत्पादनको आयातका लागि कर्जा लिने क्रम बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।
कात्तिक मसान्तसम्ममा आयात कर्जा १८ अर्ब ३२ करोड प्रवाह भएकोमा औद्योगिक उत्पादनका लागि आयात हुने कर्जा ८ अर्ब १५ करोड रुपैयाँले बढेको छ। यस्तै उपभोग्य वस्तुको आयाततर्फको कर्जा २७ प्रतिशतले बढेको छ। सेवा आयाततर्फको कर्जा ६.२ प्रतिशतले बढेको छ।
ओभरड्राफ्ट शीर्षकको कर्जा आवधिक कर्जा र क्यास क्रेडिटतर्फ समायोजन भइरहेकाले ओभरड्राफ्ट कर्जा ६.६ प्रतिशतले घटेको छ भने क्यास क्रेडिट ०.६ प्रतिशत र टर्म लोन २.७ प्रतिशतले बढेको छ।
समग्रमा चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा १ खर्ब १८ अर्ब कर्जा प्रवाह भएको छ। गत वर्षको यसै अवधिमा १ खर्ब २ अर्ब रुपैयाँमात्रै कर्जा प्रवाह भएको थियो।