काठमाडौं- विद्युतीय सवारीमा प्रयोग भएको प्रविधि, स्मुद ड्राइभिङ अनुभवलगायत कारणले धेरैलाई आकर्षित गर्दै लगेको छ। सोही कारण विश्वभर विद्युतीय सवारीको स्वीकार्यता उल्लेख्यरुपमा बढ्दै गएको छ। यसरी विद्युतीयमा गएकाहरु पुनः आईसी इन्जिन कारमा फर्कन अनिच्छुक देखिएका छन्।
विद्युतीय कार प्रयोकर्ताहरुमा गरिएको एक अध्ययनले सबैजसो विद्युतीय कार प्रयोगकर्ताहरु अब पुनः इन्टरनल कम्बस्चन इन्जिन कारमा फर्कन अनिच्छुक रहेको बताएका छन्। ग्लोबल ईभी एलाइन्सले गरेको उक्त अध्ययनका क्रममा ९२ प्रतिशत ईभी प्रयोगकर्ताहरुले अब पुनः आईसी कारमा फर्कन नचाहेको बताएका हुन्।
विश्वभरका १८ देशका २३ हजार विद्युतीय कार प्रयोगकर्ताहरुमा गरिएको उक्त अध्ययनले उनीहरुको अर्को रोजाइ पनि विद्युतीय कार नै हुने देखाएको हो। यो अध्ययनमा अमेरिका, ब्राजिल तथा युरोपेली मुलुकसमेतका ईभी प्रयोगकर्ताहरुको सहभागिता रहेको थियो।
सो अध्ययनमा सहभागी भएका मध्ये १ प्रतिशत ईभी प्रयोगकर्ताले मात्र अब नयाँ कारमा जाँदा पेट्रोलियम कार छान्ने बताएका हुन् भने ४ प्रतिशतले भने प्लगइन हाइब्रिड कार छान्ने राय व्यक्त गरेका छन्।
अध्ययनमा सहभागी ईभी चलाउनेहरू मध्ये ९७ प्रतिशत उक्त कार चलाएर सन्तुष्ट वा पूर्णसन्तुष्ट रहेको बताएका छन्।
यो अध्ययन बारे प्रतिक्रिया दिने क्रममा नर्वेजीयन ईभी एशोसिएसनका सहायक महासचिव पिटर हिउजनिल्यान्डले यो नतिजाले ईभी प्रयोगकर्ताले आफ्नो ईभी छनोटबाट सन्तुष्ट रहेको पुष्टि भएको बताएका छन्। २०२४ मा आएका अध्ययनहरुले विद्युतीय सवारीको प्रयोग र यसबाट प्रयोगकर्ताहरु सन्तुष्ट रहेको थप प्रमाणित गरेको उनले बताएका छन्।
यो अध्ययनमा सहभागीहरुलाई किन ईभी छनेको भनेर पनि प्रश्न गरिएको थियो। यो प्रश्नमा अधिकांश सहभागीहरुले ३ वटा कारणले आफूले ईभी छनोट गरेको बताएको इनसाइडईभीज् डटकमले लेखेको छ। उनीहरुले विद्युतीय कारको सञ्चालन खर्च कम रहेको, वातावरणमैत्री भएको र सञ्चालनका क्रममा आवाज अनाउने कारणले नै ईभी रोजेको बताएका हुन्।
२३ हजार ईभी प्रयोगकर्ताहरु मध्ये ७२ प्रतिशतले घरमै आफ्नो विद्युतीय कार चार्ज गर्ने गरेको बताए। त्यस्तै १३ प्रतिशतले फास्ट चार्जिङ नेटवर्कमा चार्ज गर्ने गरेको र ७ प्रतिशतले सार्वजनिक स्थानको पार्किङमा राखिएको एसी चार्जिरमा चार्ज गर्दै आएको बताएका हुन्।
त्यस्तै फास्ट चार्जरको विस्तार कम भएको, चार्जिङका क्रममा समय अलि धेरै लागेको र चार्जर नियमित रुपमा काम गर्ने अवस्थामा नरहेको गुनासो समेत धेरै ईभी प्रयोगकर्ताले गरेको उक्त अध्ययनमा उल्लेख छ। यसका साथै धेरैजसो ईभी प्रयोगकर्ताहरुले विद्युतीय कार लिएर लामो यात्रामा निस्कँदा योजना बनाएर मात्र हिँड्नुपर्ने बताएका छन्। यो भनाइलाई ब्राजिल तथा युरोपेली ईभी प्रयोगकर्ताहरुले प्राथमिकताका साथ उल्लेख गरेका थिए।
यो अध्ययनमा ईभी प्रयोगकर्ताहरुलाई रेन्ज एन्जाइटीबारे पनि प्रश्न गरिएको थियो। यो प्रश्नमा भने भारतीय र ब्राजिलका ईभी प्रयोगकर्ताहरुले आफूहरु धेरै प्रभावित रहेको बताएका हुन्। यसबारेमा जर्मनी र स्वीजरल्यान्डका प्रयोगकर्ताहरुले भने यो समस्या खासै नभएको बताएका थिए। यता नर्वेजियन ईभी प्रयोगकर्ताहरु भने रेन्ज एन्जाइटी कुनै समस्या नै होइन भन्नेमा थिए।
कयौँ देश तथा स्थानहरुमा जुन गतिमा विद्युतीय कारको बिक्री बढ्दै गइरहेको छ त्यो गतिमा फास्ट चार्जिङ नेटवर्क विस्तार नभएको सहभगीहरुको राय थियो। यद्यपी ३ प्रतिशत सहभागीले मात्र यस्तो समयस्या भोगेको बताएका छन् भने ४० प्रतिशतले यो सामान्य समस्या भएको र २८ प्रतिशतले यो समस्या नै नभएको बताएका हुन्। धेरै ईभी प्रयोगकर्ताले हरबखत ईभी चार्जर नचल्नुलाई समान समस्याका रुपमा बताएका हुन्।
त्यस्तैगरी ईभी प्रयोगकर्ताहरुले आफ्नो ईभी चार्ज गरिसकेपछि पैसा तिर्नका लागि केही समस्या हुने गरेको बताएका छन्। यो अध्ययनमा सहभागी ५० प्रतिशत ईभी प्रयोगकर्ताले आफ्नै कार्डबाट रकम भुक्तानी गर्न पाउनु पर्ने व्यवस्था हुनुपर्ने बताए। हरेक चार्जिङ नेटवर्कपिच्छे एप डाउनलोड गर्नुपर्ने झन्झट हुन नहुने उनीहरुको राय थियो। यसका लागि भने चार्जिङ प्रोटोकलमा धेरै ठूलो स्तरीकरणको आवश्यकता हुन्छ।
नर्वे विश्वको सबैभन्दा धेरै ईभी स्वीकार्यता भएको देश हो। २०२४ को नोभेम्बरमा नर्वेमा बिक्री भएको कुल नयाँ कारमध्ये ९२ प्रतिशत विद्युतीय कार थिए। नर्वेमा सबैभन्दा धेरै बिक्री हुने कारमा टेस्लाको मोडल वाई र मोडल थ्री हो।
विद्युतीय कार स्वीकार्यतामा नेपाल पनि तेस्रो वा चौथो स्थानमा आउँछ। तर नेपालका विश्व मञ्चमा उपस्थिति बलियो नभएकाले यहाँको विद्युतीय सवारी बिक्रीको गणनामा पर्न सकेको छैन। चीनमा प्ललइनको बिक्री धेरै रहेको छ। गएको अगस्टमा चीनमा १० लाख प्लगइन र हाइब्रिड कार बिक्री भएका थिए। यसमध्ये ५ लाख ८२ हजार ८ सय १३ वटा पूर्ण ब्याट्री ईभी र ४ लाख ४४ हजार २ सय ७० वटा पीएचईभी बिक्री भएको थियो। चीन धेरै बिक्री हुने र नाफा गर्ने ईभी उत्पादक कम्पनी भएको देश पनि हो।
अमेरिकामा पनि विद्युतीय कारको बिक्री क्रमिकरुपमा सुधार हुँदै गइरहेको छ। यो वर्षको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा विद्युतीय कार बिक्री ५ प्रतिशत बढेको छ। कक्स अटोमोटिभको तथ्यांकअनुसार २०२३ को तेस्रो त्रैमासको तुलनामा यो वर्षको तेस्रो त्रैमासमा अमेरिकमा बिक्री भएको नयाँ कारमा ईभीको हिस्सा बढेको छ। गत वर्ष कुल कार बिक्रीमा ७.८ प्रतिशत ईभी बिक्री भएकोमा यो वर्ष बढेर ८.९ प्रतिशत पुगेको छ।
विद्युतीय सवारी प्रयोगकर्ताहरुले यसबानरे आफू पूर्णपोख्त नभए पनि वास्तविक रुपमै उनीहरुको सवारी मन पराएका छन्। भारतमा पनि विद्युतीय सवारी प्रयोगकर्ताको संख्या बढ्दै गइरहेको छ। नेपालमा पनि विद्युतीय कारको हिस्सा उल्लेख्य रुपमा बढेको छ। चिनियाँ विद्युतीय कारको दबदबा रहेको नेपाली बजारमा २०२४ मा कुल कार बिक्रीमा ईभीको हिस्सा ७० प्रतिशतभन्दा धेरै हुने निश्चितप्रायः छ।
त्यसैले नेपालमा पनि विद्युतीय कार बिक्रेताहरुले चार्जिङ नेटवर्क विस्तार, साझा प्रयोग र सर्भिसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने देखिएको छ।