काठमाडौं- काठमाडौंमा आज यस वर्षकै चिसो महसुस गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ।
यसअघि हिजो काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री थियो। महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्रीमा झरेको छ।
तराईमा हुस्सु र कुहिरो
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाइएको छ। तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको विभागले जानकारी दिएको छ।
दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। राति देशभर मौसम मुख्यतया सफा रहने आज बिहान जारी बुलेटिनमा जनाइएको छ। रासस