काठमाडौं- गएको साताको अन्तिम दुई दिनको कारोबार र यो साता लगातार तीन कारोबारमा ओरालोतिर लागेको सेयर बजारमा बुधबार केही ‘बाउन्स ब्याक’ भयो, तर बिहीबार सम्हालिन नसक्दा बजार २७०० को बिन्दुबाट तलतिरै लाग्यो।
लगातार १०५.९९ अंकले घटेपछि बुधबार वृद्धितर्फ देखिएको सेयर बजार बिहीबार पुन: घटेको हो। गएको साता बुधबार २४.९७ अंक र बिहीबार १५.९३ अंकले घटेको बजार यो साता आइतबार ४५.९३, सोमबार १२.८४ र मंगलबार ६.३२ अंकले घटेको थियो। साताको चौथो कारोबारमा बुधबार ४५.८८ अंकले बढेको बजार बिहीबार पुन: ३३.४२ अंकले घटेर २६८२.२९ बिन्दुमा झर्यो।
लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारले वृद्धितर्फको संकेत गरे पनि लगानीकर्ता विश्वस्त देखिन सकेका छैनन्। लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। बजारले वृद्धिको साथ पाउने अवस्था रहे पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उचाइ समात्न समय लागेको उनीहरू बताउँछन्।
आउने साता पनि बजारले उतारचढावकै अवस्थामा केही वृद्धि भेट्न सक्ने लगानीकर्ताको अनुमान छ। तर बजार मनोवैज्ञानिक आधार बिन्दुमा टिकिरहन नै मुस्किल देखिएको छ। अबको अवस्थामा २६६० आसपास होल्ड भएर वृद्धि लिन नसके बजार अझै केही समय धरमर गर्ने देखिन्छ।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहेको छ। अहिलेको पर्ख र हेरको अवस्थामा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्।
गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो। मंसिर २७ गते बजार २६८२.२९ बिन्दुमा झरेको छ।
गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिरमा पनि पूरा हुन सकेन। मंसिरमा मात्र बजार ६६.४९ अंकले घटेको छ।
लगातार उच्च बिन्दुतर्फ लागेर केही समय वृद्धि रोकिएको सेयर बजार पुन: उचाइतर्फ नै लाग्ने अपेक्षा कमजोर भइरहँदा बजारको प्रवृत्ति बुझ्नुपर्ने विश्लेषकहरू बताउँछन्। अहिले बजारले अपेक्षाकृत वृद्धिमा जान धरमर गरिरहेको देखिन्छ। नयाँ बिन्दुतर्फ लागेर धरमर भएको बजारमा अब किन्नेहरू आत्मविश्वास बढेर आश्वस्त हुन्छन् या बेच्नेहरू हाबी हुन्छन् हेर्न बाँकी छ।
बजारमा अत्याधिक अस्थिरता भइरहँदा केहीले अवसरका रुपमा आफ्नो लगानीबारे निर्णय लिन्छन्। ठूलो उतारचढावमा केहीले धेरै घाटा नहोस् भन्ने अवस्था विचार गर्छन् भने केहीले ‘बाउन्स ब्याक’ हुने अवस्था हेरेर सक्दो तल्लो बिन्दुमा खरिद गर्न खोज्छन्। यसैले होल्ड गर्नसक्ने अवस्था पहिल्याउनु महत्वपूर्ण हुने विश्लेषकहरू बताउँछन्।