पर्सा- पर्सामा मिटरब्याजीविरुद्ध भएका कारबाहीमा ४६ बिघा बढी जग्गा पीडितले फिर्ता पाएका छन्। त्यसैगरी, साहुको ५० करोडभन्दा बढी मागदाबी रहेकोमा मेलमिलापबाट २७ करोड १५ लाख ६ हजार ५ सय ३५ रुपैयामा मिलापत्र भइ मिटरब्याजी पीडितहरुले राहत पाएका छन्।
जिल्ला प्रहरी कार्यालयमा हालसम्ममा ५ सय ५० सोझै परेको उजुरी र जिल्ला प्रशासन कार्यालयबाट समेत प्राप्त भएको १ हजार ६ सय ६३ गरी कुल २ हजार २ सय १३ उजुरीमध्ये १ हजार १ सय ९६ मुद्दामा मिलापत्र भइसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए। तीमध्ये जिल्ला प्रशासन कार्यालयमा २ सय २० र जिल्ला प्रहरी कार्यालयमा ९ सय ७६ उजुरीमा मिलापत्र भएको उनले बताए।
उनका अनुसार कुल उजुरीमध्ये १ हजार उजुरीमा मेलमिलाप हुन बाँकी छ। कतिपय उजुरीकर्ता उजुरी गरिसकेपछि आफै सम्पर्कविहीन भएकाले समेत उनीहरुको उजुरीको हकमा छानबिन प्रक्रिया अघि बढाउन समस्या भएको उनले बताए।
दर्ता भएका उजुरीहरु उपर छानबिन गर्दा ११ पुरुष र २ महिला गरी १३ जना आरोपित पक्राउ परेका छन्। आरोपित १७ जनाउपर मुद्दा दर्ता भइसकेको छ। उजुरीमा बढीजसो कपाली तमसुक र दृष्टि बन्धकबाट पीडित भएकाहरुको उजुरी धेरै रहेको प्रहरीको भनाइ छ।
संख्यात्मकरुपमा पर्सा प्रहरीले मधेश प्रदेशका अन्य जिल्लाहरुको तुलनामा सर्वाधिक उजुरीको छिनोफानो गरेको उनले दाबी समेत गरे।सामान्यतया मिटरब्याजीहरुले कसैलाई थोरै रकम दिएर त्यस वापतको कपाली तमसुक र दोब्बरी देखि तेब्बरीसम्म बढीको बैंक चेक धितो वापत राख्ने प्रवृत्ति रहेको छ।
यस्ता अधिकांश घटनामा एकै व्यक्तिलाई धितोबापत सापट दिएको रकमको दोबर-तेब्बरभन्दा पनि बढी रकम लेखेर कपाली तमसुक गराउने र बैंकको चेक समेत लिएर हदैसम्म अन्याय गर्ने गरेको अनुसन्धानको क्रममा पाइएको उनले बताए। यस्ता घटनामा पछि ब्याजको रकम पनि सावाँमा गाभेर ब्याजको मिटर कुदाउने चलन रहेको पाईएको उनले बताए।
मिटरब्याजी पीडितहरु साहहरुले हड्प्न खोजेको सम्पत्ति जोगाउन एक ढिक्का भएर संघर्ष समेत गरिरहेका छन्।
उनीहरु गाउँ-गाउमा भेला भइ आफै साहुहरुसँग छलफल गरी निकास दिलाउन मिटरब्याजी पीडित संघर्ष समितिले सघाइरहेको पर्साको झखरा मसीहानीका मिटरब्याजी पीडित विनय यादवले जानकारी दिए। साहुले हडपेको आफ्नो जग्गा फिर्ता गराउन समितीले आफूलाई पनि सहयोग गरेको उनले सुनाए।