मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

बुधबार ४५ अंकले बढेको नेप्से बिहीबार ३३ अंकले घट्यो, आउने साता उचाइतर्फ बढ्ला?

बिहीबार , मंसिर २७ २०८१
बुधबार ४५ अंकले बढेको नेप्से बिहीबार ३३ अंकले घट्यो, आउने साता उचाइतर्फ बढ्ला?

काठमाडौं- लगातार १०५.९९ अंकले घटेपछि बुधबार वृद्धितर्फ देखिएको सेयर बजार बिहीबार पुन: घटेको छ। गएको साताको अन्तिम दुई दिनको कारोबार र यो साता लगातार तीन कारोबारमा ओरालोतिर लागेको बजारमा बुधबार बल्ल हरियाली देखिएकोमा बिहीबार ओरालोतिर नै लागेको हो। 

गएको साता बुधबार २४.९७ अंक र बिहीबार १५.९३ अंकले घटेको बजार यो साता पनि पहिलो तीन कारोबारमा नै ओरालोतिर लागेको थियो। यो साता आइतबार ४५.९३, सोमबार १२.८४ र मंगलबार ६.३२ अंकले बजार घटेको थियो। साताको चौथो कारोबारमा बुधबार ४५.८८ अंकले बढेको बजार बिहीबार पुन: घट्यो। 

बिहीबार ३३.४२ अंकले घटेर बजार २६८२.२९ बिन्दुमा झरेको छ। ४० कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ६ अर्ब १४ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ। २०४ कम्पनीको सेयर मूल्य घटेको छ। 

लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारले वृद्धितर्फको संकेत गरे पनि लगानीकर्ता विश्वस्त देखिन सकेका छैनन्। लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। बजारले वृद्धिको साथ पाउने अवस्था रहे पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उचाइ समात्न समय लागेको उनीहरूको तर्क छ। 

आउने साता पनि बजारले उतारचढावकै अवस्थामा केही वृद्धि भेट्न सक्ने लगानीकर्ताको अनुमान छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। अहिलेको पर्ख र हेरको अवस्थामा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। लामो समयदेखि बजार उतारचढावको अवस्थामा नै देखिन्छ। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। मंसिरमा बजार नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू रहे पनि बजार त्यसअनुरुप देखिन सकेन।  


प्रकाशित : बिहीबार , मंसिर २७ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend