शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया

images
बिहीबार , मंसिर २७ २०८१
images
images
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया

पहिला महिनाको ३० हजारसम्म कमाइ हुने गरेपनि साइकल टाढासम्म चलाउन नसक्ने भएकाले अहिले २० हजार रूपैयाँसम्म कमाइ हुने गरेको छ।

images
images

कञ्चनपुर- कृष्णपुर नगरपालिका-२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार(सान) लगाउने कार्य गर्छन्। चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उनको दिनचर्या नै हो।

images
images
images

यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उनले बताए। साइकलको डण्डीमा जडान गरिएको सान (धार) लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर उनले धारिलो बनाउँछन्। तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगायबापत रानाले दैनिक करिब रु एक हजार जति आम्दानी हुने गरेको सुनाए। 

images
images

'बिहानको नास्ता गरेर घरबाट निस्किन्छु। साँझ अबेर मात्रै घर फर्कने गरेको छु, दिउँसोको खाना बजार क्षेत्रमै खाने गर्छु', उनले भने। रानाले कहिलेकाही धनगढीदेखि महेन्द्रनगर बजारसम्म पुगेर यस्तो कार्य गर्ने गरेको बताए।

images
images
images

खाना खर्च कटाएर दैनिक रु सात सय जति बचत हुने गरेको उनी बताउँछन्। सान लगाउनेकार्य रानाले २० वर्षकै उमेरदेखि गर्दै आएका हुन्। पहिले रानाले भारतमा यही काम गरेर घर खर्च चलाउने गरेको समेत बताए। स्वदेश फर्केर विवाह गरेपछि यसै कार्यलाई निरन्तरता दिएको र यसैबाट आउने आम्दानीबाट पाँच छोराछोरीको लालनपालन गरिरहेको रानाको भनाइ छ।

'घरखर्च यसैबाट आएको कमाईले धानिदै आएको छ। मुक्तकमैया पुनःस्थापना कार्यक्रमअन्तर्गत पाइएको घरबासको जग्गा मात्रै छ। अन्न, लुगाफाटो, औषधोपचार यसबाटै आएको कमाइले गरिरहेको छु', उनले भने, 'पछिल्लो समय त छोराले ज्यालामजदुरी गरेर सघाइरहेका छन्। हामी सबैको आम्दानी घर खर्चमै सकिन्छ।'

विसं २०५८ सालमा श्रीमतीको देहावसान भएपछि आमाको भूमिकासहित आफैले एकल अभिभावकत्व निर्वाह गर्नुपरेको रानाले बताए। 'कमाइ गर्ने माध्यम थिएन, पर्याप्त अन्न फल्ने खेत पनि छैन, पहिलेदेखि नै सिकेको सीप भएकाले यसैलाई निरन्तरता दिँदै आएको छु', उनी भन्छन्, 'अहिले छोरा पनि कमाउने भएकाले केही सहज भएको छ। बुढेसकाल लागे पनि पहिलेदेखि नै काम गरिरहेकाले ग्राहकले पनि रुचाउने गरेका छन्। हतियारमा धार लगाएपछि पैसा दिन कसैले पनि कन्जुस्याइँ गर्दैनन्। बरु बुढेसकालमा पनि मेहनत गरेर खाने बड्डा भनेर थपेरै दिन्छन।' 

रानाले चक्कु, हसिया, चुलेसीलगायतमा धार लगायबापत २० रूपैयाँ, खुकुरी, बञ्चरोमा धार लगायबापत ५० रूपैयाँ र तरबारको एकसय रूपैयाँ ज्याला लिने गरेका छन्। पहिला महिनाको ३० हजार रूपैयाँसम्म पनि कमाइ हुने गरे पनि साइकल टाढासम्म चलाउन नसक्ने भएकाले १५ हजारदेखि २० हजार रूपैयाँसम्म कमाइ हुने गरेको उनले जानकारी दिए।

'बसेरभन्दा गरेर खाँदाको आनन्द बेग्लै हुन्छ। छोरा बुहारीसँग हात फैलाएर माग्नु परेको छैन, बरु उनीहरूलाई सहयोग गर्छु', रानाले खुसी हुँदै भने। रासस


प्रकाशित : बिहीबार , मंसिर २७ २०८१११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend