मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार १०५ अंकले घटेपछि ४५ अंकले बढ्यो सेयर बजार, ५ अर्ब रुपैयाँको कारोबार

बुधबार, मंसिर २६ २०८१
लगातार १०५ अंकले घटेपछि ४५ अंकले बढ्यो सेयर बजार, ५ अर्ब रुपैयाँको कारोबार

काठमाडौं- लगातार १०५.९९ अंकले घटेपछि सेयर बजारमा वृद्धि देखिएको छ। गएको साताको अन्तिम दुई दिनको कारोबार र यो साता लगातार तीन कारोबारमा ओरालोतिर लागेको बजारमा बल्ल हरियाली देखिएको हो।

गएको साता बुधबार २४.९७ अंक र बिहीबार १५.९३ अंकले घटेको बजार यो साता पनि यसअघिका तीन कारोबारमा नै ओरालोतिर लागेको थियो। यो साता आइतबार ४५.९३, सोमबार १२.८४ र मंगलबार ६.३२ अंकले बजार घटेको थियो। 

यो साताको चौथो कारोबारमा बुधबार ४५.८८ अंकले बढेर सेयर बजार २७१५.७१ बिन्दुमा पुगेको छ। २११ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ५ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ। २९ कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारले वृद्धितर्फको संकेत गरे पनि लगानीकर्ता विश्वस्त देखिन सकेका छैनन्। लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। बजारले वृद्धिको साथ पाउने अवस्था रहे पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उचाइ समात्न समय लागेको उनीहरूको तर्क छ। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। अहिलेको पर्ख र हेरको अवस्थामा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। लामो समयदेखि बजार उतारचढावको अवस्थामा नै देखिन्छ।

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। मंसिरमा बजार नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू छन्। तर बजार त्यसअनुरुप देखिन सकेको छैन।  

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो। 


प्रकाशित : बुधबार, मंसिर २६ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend