काठमाडौं- भौतिक दुनियाँमा सबै कुरा निश्चित र अनुमानयोग्य हुन्छ भन्ने परम्परागत मान्यतालाई चुनौती दिँदै विज्ञानको क्षेत्रमा करिब शतब्दीअघि अस्तित्वमा आएको क्यान्टम भौतिक विज्ञानको सिद्वान्तमा आधारित भएर कम्प्युटर निर्माणको दौडमा शक्ति राष्ट्रहरू लागिपरेका छन्।
आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स र अन्तरिक्षको दौडमा रहेको विश्वका लागि यो अर्को प्रतिष्ठाको लडाइ बनिरहेको छ।
दुनियाँ हामीले जसरी देख्छौँ त्यतिमै सीमित छैन। अर्थात् हामीले देख्नेभन्दा पर पदार्थ र प्रकाशभित्र धेरै कुरा लुकेको छ र त्यसको खोजी सहज र सरल छैन भन्ने वैज्ञानिक बुझाइमा आधारित भएर क्वान्टम कम्प्युटरको विकासमा दुनियाँका शक्तिशाली सरकार र बहुराष्ट्रिय कम्पनीहरू लागिपरेका छन्।
यो एउटा त्यस्तो आविष्कार हो कि जसले यसमा पहिला सफलता हात पार्छ कम्तिमा आगामी केही दशक त्यो देश र कम्पनीले दबदबा राख्न सफल हुनेछ। यही लोभमा अमेरिकादेखि चीनसम्ममात्र होइन टेक जायन्टहरू वर्षौँदेखि खर्बौँ डलर लगानी गरिरहेका छन्। क्वान्टम सर्वोच्चता हात पार्नका लागि चलिरहेको यो दौडमा कोहीदेखि कोही कम छैन तर पनि यसको प्रायोगिक सफलता भने हात परेको छैन।
यसैबीच अमेरिकी टेक जायन्ट गुगलको मातृ कम्पनी अल्फाबेटले क्वान्टम चिप बनाउन सफल भएको घोषणा गरेको छ। १०५ क्युबिट्स क्षमताको चिप बनाइएको अल्फाबेटले जानकारी दिएको छ। यो भनेको निकै शक्तिशाली चिप हो। अहिलेका क्लासिक कम्प्युटरलाई एकैठाउँमा राख्दा पनि गर्न नसक्ने समाधान यसले पाँच मिनेटमै सक्ने दाबी गरिएको छ।
क्वान्टम कम्प्युटर भनेकै सम्भावना र अनिश्चितामा आधारित सिद्धान्तमा बनेको हुन्छ। यसमा सधैँ अनिश्चितता हुने भएकाले सही परिणाम आउनेमा जोखिम हुने देखिन्छ। गुगलका प्रमुख वैज्ञानिकहरूले भने यही सम्भावित अनिश्चिततालाई नियन्त्रण गर्नेगरी चिप विकास गरिएको दाबी गरेका छन्।
गुगलले यसअघि सन् २०१९ मा पनि यस्तै चिप विकास गरेको घोषणा गरेको थियो। गुगलसँगै चिनियाँ विश्वविद्यालयहरूमा पनि यसमा उल्लेख्य अनुसन्धान भइरहेको समाचार आइरहेका छन्।
गुगलले अहिले विकास गरेको भनिएको चिप प्रयोगमा आउन र यसको वास्तविक दुनियाँमा आउनका लागि केही समय लाग्छ। तर पनि यो एउटा कोशेढुंगा हुनेछ। सन् १९९० देखि नै क्वान्टम कम्प्युटरको क्षेत्रमा विभिन्न चरणमा काम भइरहेको छ।
क्वान्टम सर्वोच्चताको लडाइमा यदि गुगलले घोषणा गरेको चिप सफल भयो भने यो कम्पनी प्रारम्भिक विजेता हुनेछ। र यसको स्वामित्व सयुक्त राज्य अमेरिकाले लिनेछ। आर्टिफिसयल इन्टेलिजेन्सको दौडमा ओपन एआईसँग हारेको गुगलले क्वान्टममा भने सफलता हात पार्नसक्नेछ। यद्यपि यसको छिनोफानो यसले साँच्चिकै कसरी काम गर्छ भन्ने कुराले गर्ने छ।
कसरी काम गर्छ क्वान्टम कम्प्युटर, यो कसरी चमत्कारिक हुनेछ?
सुपर कम्प्युटरदेखि हामीले प्रयोग गर्ने मोबाइलमा थपिएका नयाँ फिचर्स देखेर हामीलाई प्रविधिको असाधारण विकास यही हो भन्ने लाग्छ। अहिलेसम्मको देखिने उच्चतम रुप यही हो। तर यो क्लासिक कम्प्युटिङ प्रविधि र यसले समयको एउटा सीमा नाघ्न सक्दैन।
निश्चित र अनुमानयोग्य भौतिक अवस्थितिको कल्पना गर्ने भौतिकशास्त्रको अवधारणमा विकास भएको यो कम्प्युटिङले दुनियाँमा पदार्थ र प्रकाशको एउटा अवस्थाभन्दा भित्र छिर्न असमर्थ भइसकेको छ। त्यही भएर क्वान्टम अवधारणा आएको हो।
पदार्थ वस्तु जुन देखिन्छ त्यही हुँदैन। अहिलेसम्मको अनुसन्धान र प्रविधिले वस्तु र पदार्थको देखिने रुपमात्र पत्ता लगाएको छ। प्रकृति सुक्ष्म तहमा असाधारण रुपमा अस्तित्वमा हुन्छ तर त्यसको अनुसन्धान गर्ने प्रविधि क्लासिक कम्प्युटिङबाट सम्भव छैन। अणु र परमाणुको तहमा पदार्थ कसरी व्यवहार गर्छ भन्ने कुरा अहिलेको प्रविधिबाट सम्भव छैन।
मोलिक्युलको तहमा गएर गरिने जटिल गणीतीय हिसाब अहिलेको प्रविधिमा हजारौँ वर्ष लाग्छ, किनभने यो कम्प्युटिङ निश्चित हुन्छ। कुनै पनि सूचना यसमा बिट्सम भण्डारण हुन्छ जुन कि शून्य र कि एकको अवस्थामा हुन्छ। यसले गर्दा सीमा पैदा हुन्छ। तर क्वान्टममा भने सुपर पोजिसन हुन्छ। कुनै पनि विट्स शून्य वा एक सँगै दुबै सँगै हुने सम्भावना हुन्छ। त्यसैले यसको भण्डारण क्युविट्समा हुन्छ। अथाह सम्भावना पैदा हुने भएकाले यसमा जटिलभन्दा जटिल समाधान छिटो समाधान हुन्छ।
कुनै पनि पदार्थको अणु र परमाणुको तहमा गएर त्यसको सुक्ष्म अनुसन्धान, स्युमिलेसन जस्ता काम क्वान्टम कम्प्युटिङबाट सम्भव हुनेछ यदि सफल भएमा। जलवायु परिवर्तनदेखि औषधि विज्ञानसम्मका अनुसन्धानमा यो वरदान साबित हुनेछ।