काठमाडौं- भारतबाट महिन्द्राको गाडी ल्याएर बिक्री गर्दै आएको अग्नि समूह विगतमा मोटरसाइकल व्यापारमा पनि थियो। महिन्द्रा ब्रान्डकै मोटरसाइकल तथा स्कुटर ल्याएर बिक्री गरेको अग्नि समूह दुईपांग्रे सवारी व्यापारमा असफल नै भयो।
भारतीय मोटरसाइकल उत्पादक कम्पनीहरूले नेपालमा राम्रो सफलता हासिल गरिरहँदा महिन्द्रा दुईपांग्रेले भने आफ्नो उपस्थिति बलियो बनाउन सकेन। भारतमै पनि मोटरसाइकल तथा स्कुटरको व्यापार महिन्द्राले सफलता हासिल गर्न नसकेपछि दुईपांग्रे डिभिजन नै बन्द गर्ने निर्णय गरेको थियो। जसको प्रभाव नेपालमा महिन्द्राको मोटरसाइकल बिक्रीमा स्वतः पर्यो।
त्यसपछि अग्नि समूहले प्रिमियम मोटरसाइकल ब्रान्ड जाभा नेपाली बजारमा ल्याएको थियो। उक्त ब्रान्ड नेपाल भित्रिएको सुरुवाती समयमा लय लिन खोजेपनि पछिल्लो समय महिन्द्राको ‘दुईपांग्रे’कै पथमा देखिएको छ। दुईपांग्रे व्यापारमा तितो अनुभव हासिल गरेको अग्नि समूह पुनः एकपटक दुईपांग्रे सवारी आयात तथा व्यापारमा अग्रसर भएको छ।
हाल नेपाली बजारमा नयाँ ब्रान्डको दुईपांग्रे सवारी ल्याउन चाहनेले विद्युतीय ब्रान्डलाई नै केन्द्रमा राख्दै आएका छन्। नेपालमा बजार हिस्सा धेरै भएका कम्पनीहरू विद्युतीय सकुटरतर्फ लागिसकेका छन्।
बजाजले चेतक स्कुटर ल्याएर परीक्षण गरेर सार्वजनिक गर्ने अन्तिम तयारीमा छ भने टीभीएसले विद्युतीय स्कुटर आईक्युव केही महिनाअघिदेखि नै बिक्री गर्दै आएको छ। होन्डा तथा याहामा पनि भारतमा सार्वजनिक भएलगत्तै विद्युतीय स्कुटर नेपाल ल्याउन तयारी अवस्थामा छन्।
यता अग्नि समूह भने पुनः पेट्रोल मोटरसाइकल तथा स्कुटर आयातमा लागेको छ। अग्नि समूहअन्तर्गतको अग्नि मोटोइंक प्रालिले चीनबाट प्युजो ब्रान्डको दुईपांग्रे सवारी आयात गरेर बिक्री गर्ने भएको छ। यसका लागि कम्पनीले आयात प्रक्रिया सुरु गरिसकेको छ।
अग्नि मोटोइंकले जिनान क्युङकी प्युजो मोटरसाइकल्स कम्पनी लिमिटेडले उत्पादन गरेका दुई मोडलको स्कुटर सुरुमा ल्याउन लागेको छ। कम्पनीले प्युजो डिजेङगो र प्युजो स्पीडफाइट ४ ल्याउन लागेको हो।
प्युजो डिजेङगो र प्युजो स्पीडफाइट ४
प्युजो डिजेङगो १ सय २५ सीसीको स्कुटर हो। रेट्रो क्लासिक डिजाइनमा बनेको प्युजो डिजेङगो युरो फाइभ कम्प्लायन्सयुक्त छ। पेट्रोल इन्जिनयुक्त यो स्कुटरले ७.४ किलोवाट पावर जेनेरेट गर्छ। त्यस्तै अग्नि मोटोइंकले ल्याउन लागेको प्युजो चाइना सिक्स कम्पायन्यस इन्जिनयुक्त स्कुटर हो। १ सय ५० सीसी पेट्रोल इन्जिन भएको यो स्कुटरले ९.३ केडब्लू पावर जेनेरेट गर्छ।
कम्पनीले आयात प्रक्रिया सुरु गरिसकेकाले अबको केही महिना भित्रै यी स्कुटर बिक्रीका लागि नेपाल भित्रिसक्ने छन्। यसको मूल्य लगायतबारेमा भने केही बाहिर आएको छैन। हाल नेपालमा पेट्रोल इन्जिनयुक्त मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीले यही एसेम्बल गर्दै आएका छन्।
तयारी मोटरसाइकल तथा स्कुटरको तुलनामा एसेम्बलका लागि किट आयात गर्दा सरकारले कर सहुलियत दिएको छ। सोहीकारण यही एसेम्लब भएका मोटरसाइकल तथा स्कुटरको तुलनामा तयारी आयात भएकाको स्वभाविक रुपमै धेरै पर्छ। राम्रो बिक्री हुने देखेमा अग्नि मोटोइंकले पनि भविष्यमा एसेम्बल गर्ने सम्भावना छ।
प्युजो मोटरसाइकलबारे
फ्रान्सेली मोटरसाइकल उत्पादक कम्पनी प्युजो मोटरसाइकलमा २०२३ को सुरुवातमा जर्मन इनभेस्टमेन्ट फन्डले लगानीको घोषणा गरेको थियो। उक्त फन्डले ५० प्रतिशत सेयर खरिद गरेर आफ्नो हिस्सा ८० प्रतिशत बनाएको थियो।
२०१९ मा भारतीय सवारी उत्पादक कम्पनी महिन्द्राले पीएसए समूहको स्वामित्वमा रहेको प्युजो मोटरसाइकलको ४९ प्रतिशत सेयर खरिद गरेको थियो। २०२३ को सुरुमा महिन्द्राले प्युजो मोटरसाइकलको सेयर बिक्री गर्न चाहेपछि जर्मन इनभेन्टमेन्ट फन्ड मुट्रेसले खरिद गरेको थियो। महिन्द्राले त्यतिबेला केही प्रतिशत सेयर भने आफैँसँग बाँकी राखेको थियो।
प्युजो मोटरसाइकलले मोटरसाइकल तथा स्कुटरको डिजाइन र म्यानुफ्याक्चरिङ गर्दै आएको छ। कम्पनीले दुई तथा तीनपांग्रे सवारी बनाउँदै आएको छ। कम्पनीको फ्रान्ससहित अन्य तीन देशमा गरेर ३ हजार वटा सेल्स, आयातकर्ता तथा डिलरहरू रहेका छन्।
कम्पनीले २०२२ मा १४ करोड युरोको कारोबार गरेको थियो। हाल प्युजो मोटरसाइकलको फ्रान्समा एउटा उत्पादन प्लान्ट छ। त्यस्तै चीनमा प्युजो मोटरसाइकलले जिनान क्युङकी मोटरसाइकलसँगको संयुक्त उपक्रममा प्लान्ट स्थापना गरेर दुईपांग्रे सवारी उत्पादन गर्दै आएको छ।
२००६ मा जियान क्युङकी प्युजो मोटरसाइकल कम्पनी स्थापना भएको थियो। चिनियाँ कम्पनी जियान क्युङकी र प्युजो मोटरसाइकलको ५०/५० प्रतिशत हिस्सेदारीमा संयुक्त उपक्रम स्थापना भएको थियो।
प्युजो मोटरसाइकल आजभन्दा १ सय २६ वर्षअघि अर्थात १८ सय ९८ मा स्थाापना भएको थियो। सोही वर्ष कम्पनीको पहिलो मोटरसाइकल पेरिस एक्जिविसनमा प्रदर्शनीमा राखेको थियो।