काठमाडौं- चीन भ्रमणका क्रममा चीनसँग बीआरआई फ्रेमवर्कमा सम्झौता गरेर फर्किएका प्रधानमन्त्रीले अर्को सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताहरूलाई झस्काउने अभिव्यक्ति दिएका छन्।
चीनसँगको बीआरआई सम्झौता गर्दा सुरूमा अनुदानमात्र लिनेगरी गर्नुपर्ने अडान राखेको कांग्रेसले पछि सहायता शब्द राखिएपछि त्यसको प्रष्टीकरण दिनलाई कार्य सम्पादन समितिको बैठकमै छलफल गरेको थियो।
चीन भ्रमणबाट फर्किएपछि कांग्रेस नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणालेसमेत चीनसँगको सम्झौता ऋण नभइ अनुदानमै केन्द्रित रहेको बताएकी थिइन्। कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समेत जे-जस्तो सम्झौता भएपनि चीनले अनुदान नै बुझेको बताएका थिए।
देउवा पक्षकै नेताहरू चीनसँग ऋण लिने कुराको कटु आलोचक रहँदै आएका छन्। कांग्रेसका अधिकांश नेताहरू चीनसँग भएको सम्झौता अनुदानमा मात्र केन्द्रीत रहेको कुरा फैलाउन सक्रिय भएका छन्।
भ्रमणबाट फर्कएको केही समयसम्म प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यस्तै अभिव्यक्ति दिइरहेका थिए। तर पछिल्लो समय भने बोली फेरेका छन्। सोमबार झापामा बोल्दै ओलीले बीआरआई फ्रेमवर्कलाई अनुदानममात्र हो भनेर बुझ्न नहुने बताएका छन्। योअन्तर्गत नेपालले आफ्नो अनुकूलता र आवश्यकतामा ऋण पनि लिनसक्ने उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीले हालै आफ्नो चीन भ्रमणका क्रममा चीनसँग भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्क सम्झौताबाट देशलाई लाभ हुने बताउँदै हाललाई देशको आर्थिक अवस्था हेरेर ऋण नलिइ सहकार्य र सहयोगलाई बढी जोड दिइएको स्पष्ट गरेका थिए।
‘अहिलेको सरकार देशको अवस्थाप्रति सचेत छ। विकास कसरी गर्नुपर्छ भन्ने हामीलाई थाहा छ। हामीले ऋण लिएर खुरुखुरु घिउ खाने खालका काम मात्रै गर्नु हुँदैछ। कुनै उत्पादन गरेर तिर्न सक्ने अवस्थामा ऋण पनि लिनुपर्छ’ उनले भनेका थिए,’बीआरआईलाई ऋण मात्रै वा सहयोग मात्रै भन्ने अर्थमा नभइ व्यापक अर्थमा बुझ्नुपर्छ। हामीले हाम्रो विकासको हितका के उपयोगी हुन्छ, त्यो गर्नुपर्छ।’