काठमाडौं- चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको फ्रेमवर्कमा सम्झौता भएपछि त्यसमा समेटिएका शब्द र समग्र आशयलाई लिएर नेपाली कांग्रेस पार्टीमा तरंग सिर्जना भएको छ।
परराष्ट्र मन्त्रालयसहित सरकारको बलियो साझेदार रहेको कांग्रेसभित्र उक्त सम्झौतालाई लिएर तरंग पैदा भएको हो।
प्रधानमन्त्रीको चीन भ्रमणमा अनुदानमात्र लिनेगरी फ्रेमवर्कमा सम्झौता गर्नुपर्ने आवाज कांग्रेसभित्र पहिले नै उठेको थियो। तर प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चीनले 'अनुदान' शब्द हटाएर 'सहायता' शब्द राखिदिएपछि कांग्रेसका नेताहरूले त्यसमा निरन्तर बोल्दै आएका छन्।
सरकारको नेतृत्व गरेको अर्को दल एमालेभित्र खासै चर्चा नभएपनि कांग्रेसमा भने शेखर कोइराला समूह यसै पनि विरोधमा थियो। साथै सभापति शेरबहादुर देउवा पक्षकै नेताहरूले पनि उक्त विषयमा पार्टीले प्रष्ट पार्नुपर्ने बताउँदै आएका थिए।
देउवाका विश्वासपात्र तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महत र पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले नै बीआरआईका विषयमा पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने आवाज उठाउँदै आएका थिए।
दुई देशबीचमा भएको सम्झौता र आफ्नै पार्टीको परराष्ट्रमन्त्री भएको सरकारले गरेको सम्झौताका विषयका कांग्रेसले पार्टीभित्र छुट्टै छलफल गरेको हो। सोमबार बसेको कार्यसम्पादनको बैठकमा यस विषयमा छलफल भएको थियो।
कांग्रेसको बैठकमा सभापति देउवाले सम्झौतामा शब्दमा जे भएपनि नेपालले ऋण नभइ अनुदानमात्र अपेक्षा गर्छ भन्ने बुझेको बताएका थिए।
कांग्रेसले फेरि पनि सम्झौता जे भएपनि चीनको बीआरआई अन्तर्गत अनुदानमात्र लिने अडान दोहोर्याएको हो।
प्रधानमन्त्रीको भ्रमण पहिले नै दुई पार्टीका नेताहरूको कार्यादलले नै टुंग्याएको दायरामा रहेर भएको सम्झौतामाथि फेरि केन्द्रीय तहमा छलफल हुनुलाई कांग्रेसकै केही नेताहरू अर्थहीन भएको बताउँछन्।
कांग्रेसका नेताहरूले सहायता शब्द राखेकाले ऋण नै लिनका लागि स्पेस राखिएको र यसको अपसजको भार कांग्रेसले बोक्न नहुने केही नेताहरूको अडान थियो। आफूपक्षकै नेताहरूको आवाज उठेपछि देउवाले कार्यसम्पादनको बैठकमा छलफल गराएको एक नेताले जानकारी दिए।
‘दुई देशको सम्बन्धका विषयमा बाहिर धेरै हल्ला गर्नुभन्दा ऋण नलिने कुरामा कांग्रेस अडिग छ र चीनले पनि सोहीरुपमा बुझेकाले यसमा अब धेरै दोधारमा नरहन आश्वस्त बनाउनुभयो’ बैठकमा सहभागी एक नेताले भने।
चीनसँगको सम्झौतापछि भारत र अमेरिकाले चासो व्यक्त गरिरहेका छन्। भारत तथा अमेरिकाले कांग्रेसले चीनसँग ऋण लिनेगरी बीआरआईमा सम्झौता गरेको छैन भन्ने सन्देश दिनलाई पनि कांग्रेसभित्र छलफल भएको नेताहरू बताउँछन्।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएर कांग्रेस सभापति देउवासँग भेट गरेका थिए। प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग भेटको अवसर नपाएका उनले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, देउवासँगै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट गरेका थिए।
नेपाली कांग्रेसभित्र भारत र अमेरिकाप्रति सफ्टकर्नर राख्ने हिस्सा ठूलो भएकाले पनि चीनसँगको पछिल्लो सम्झौताका बारेमा प्रश्न उठ्नु स्वभाविक भएको कांग्रेसकै नेताहरू बताउँछन्। ’तर यस्ता छलफल र प्रष्टीकरणको कुनै अर्थ छैन, कांग्रेसकोमात्र यो देशमा भोलि सरकार हुँदैन त्यस्तो अवस्थामा ऋण त लिइहाल्छन्। यो सम्झौताले त्यो कुरा खुला छाडेको छ। यो कुरा भारत र चीनले बुझेका छैनन् भनेर हामीले सोच्नु बेकार हो’ कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन्।
महाधिवेसनले छोइसकेको कांग्रेसभित्र भने यही विषयलाई लिएर छिमेकीको विश्वास आर्जनको औजारका रुपमा प्रयोग गर्न खोजेका देउवा पक्षका नेताहरुले आरोप लगाएका छन्। स्वतन्त्र देशले आफ्नो आवश्यकताका आधारमा सावधानीपूर्वक गरिएको सम्झौतालाई लिएर भारतीय सद्वभाव जित्ने होडमा लाग्नु आफैमा घातक भएको देउवा पक्षका नेताहरूको भनाइ छ।