काठमाडौं- साताको पहिलो कारोबारमै घटेको सेयर बजार दोस्रो कारोबारमा पनि ओरालोतर्फै लागेको छ।
अघिल्लो साता उतारचढावबीच समग्रमा १३.१२ अंकले घटेको सेयर बजार यो साताको पहिलो कारोबार दिन आइतबार ४५.९३ अंकले घटेको थियो। सोमबार पनि बजार १२.८४ अंकले घटेर २६७६.१५ बिन्दुमा ओर्लिएको छ।
सोमबार ९२ कम्पनीको सेयर मूल्य बढ्दा ५ अर्ब ६२ करोड ९९ लाख रूपैयाँको कारोबार भएको छ। आज एकसय ३८ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको सेयर मूल्यमा परिवर्तन आएको छैन।
लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारले वृद्धितर्फको संकेत गरिरहँदा लगानीकर्ता विश्वस्त देखिन सकेका छैनन्। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै नीतिगत फेरबदल नहुँदा लगानीकर्ता केही दोधारमा देखिएको र पर्ख र हेरकै अवस्थामा रहेको विश्लेषकहरू बताउँछन्।
उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा सुधारको संकेत भने देखिएको उनीहरूको भनाइ छ। लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ।
बजारले वृद्धिको साथ पाउने अवस्था रहे पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उचाइ समात्न समय लागेको उनीहरूको तर्क छ। आउने साता बजारले उतारचढावपूर्ण यात्राबीच केही उचाइ समात्ने सम्भावना रहेको उनीहरू बताउँछन्।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। अहिलेको पर्ख र हेरको अवस्थामा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। लामो समयदेखि बजार उतारचढावको अवस्थामा नै देखिन्छ।
गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। मंसिरमा बजार नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू छन्। तर बजार त्यसअनुरुप देखिँदैन।
गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो।