काठमाडौं- हकप्रद दिने तयारीमा रहेको नेपाल फाइनान्सले ६ महिनामा ३ करोड ३२ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ। कम्पनी गत वर्ष यो अवधिमा ३९ लाख ८ हजार ऋणात्मक थियो।
कम्पनी अहिले हकप्रद सेयर निष्कासन गर्ने तयारीमा रहेको छ। कम्पनीले १ः०.७० अनुपातमा १०० अंकित दरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारीमा रहेको हो। कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता ७१५ रुपैयाँमा कारोबार भइरहेको छ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा वृद्धि भएको हो। कम्पनीको खुद ब्याज आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १७ गुणा वृद्धि भएको हो।
कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा १९ लाख २१ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ३ करोड ३४ लाख पुगेको हो।
कम्पनीको प्रतिसेयर आम्दानी ३.५४ रुपैयाँ ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा सुधारिएर १३.४९ धनात्मक भएको हो। कम्पनीको वितरणयोग्य नाफा पनि २ करोड ५९ लाख रहेको छ।
चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार रहेको कम्पनीले जगेडामा ४८ करोड ८७ लाख र सेयर प्रिमियममा २ करोड १९ लाख ५७ हजार सञ्चित गरेको हो।