काठमाडौं- अनपेक्षित रुपमा राजस्व संकलनमा सुधार हुन नसकेपछि पछिल्लो समय सरकारी निकायहरू एकआपसमा छलफल गरिरहेका छन्। प्रत्येक माथिल्लो निकायले चुहावट रोक्न निर्देशन दिएको कुरा पछिल्लो एक वर्षदेखि आइरहेको छ।
निर्देशन तथा छलफलको म्याराथन दौडबाट पनि चुहावट रोकिने कुनै संकेत देखिएको छैन। यसैबीच पछिल्लो समय राजस्वसँग सम्बन्धित तीन विभागबीचमा छलफल भएको छ।
आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग र भन्सार विभागबीचमा समुन्वय बढाउने सहमति भएको छ। आज विभागीय प्रमुखहरूबीच भएको छलफलले तीन निकाबीचमा कारोबारको सुरुदेखि अन्तिमसम्म ट्र्याकिङ बढाएर अनुगमनलाई कसिलो बनाउने सहमति भएको हो।
एकआपसमा सूचना तथा जानकारीको साझेदारी गर्ने, विश्लेषण र ट्र्याकिङलाई सामूहिक बनाउने जस्ता विषयमा तीन विभागबीच सहमति भएको छ।
समुन्वयको अभावमा नियमन कसिलो हुन नसकेको भन्ने कुरा आइरहेकाले यी निकायले समुन्ययलाई कसिलो बनाउने सहमति गरेका छन्।
राजस्व अनुसन्धान विभागको भिसिटिएस प्रणाली, भन्सार विभागको आसिकुडा वर्ल्ड प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत सूचना प्रणालीमा प्रविष्ट भएका सूचनालाई एक आपसमा अन्तर आवद्धता कायम गरी कर परीक्षण तथा अनुसन्धान, भंसार जाँचपास पछिको परीक्षण, बजार अनुगमन, गस्ती परिचालन आदिमा प्रयोग सहमति भएको छ।