बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कोशीमा ७८ हजार पर्यटक ल्याउन २ अर्ब २४ करोडका चारवटा पदमार्ग

आइतबार, मंसिर २३ २०८१
कोशीमा ७८ हजार पर्यटक ल्याउन २ अर्ब २४ करोडका चारवटा पदमार्ग

परियोजनाबाट १ लाख स्थानीयले प्रत्यक्ष लाभ लिने र पदमार्गको निर्माण तथा पुनः निर्माणका क्रममा ४ लाख दिनबराबरको रोजगारी सिर्जना हुने भएको छ।

इटहरी- कोशी प्रदेशमा पर्यटन प्रवर्द्धनको लागि नयाँ परियोजना सार्वजनिक भएको छ। स्वीस सरकार विकास सहयोग परियोजनाअन्तर्गत २ अर्ब ४५ करोड रूपैयाँको लागतमा चारवटा पदमार्ग निर्माण गर्न लागिएको हो।

७८ हजार पर्यटक भित्र्याउने तयारीसहित परियोजना सुरु गर्न लागिएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।

पदमार्गमा होमस्टे, लज, र अन्य आतिथ्य सेवाको विकास गर्न लागिएको छ। चार वर्षको अवधिमा आन्तरिक तथा बाह्य गरी ७८ हजार पर्यटकले पदमार्ग क्षेत्र भ्रमण गर्ने र पर्यटनसँग सम्बन्धित दुई हजार नयाँ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।

चार वर्षे परियोजना सञ्चालनका मुख्यमन्त्री कार्कीको उपस्थितिमा कोशी सरकार र स्वीस दूतावासबीच आइतबार सम्झौता भएको हो। २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको कोशी सरकारले पदमार्ग निर्माणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छ। 

परियोजना अन्तरगत इलामको चियाबारी पदमार्ग (इलाम-फिक्कल-श्रीअन्तु), फाल्गुनन्द पदमार्ग (फिदिम-छिन्ताप्पु-सन्दकपुर-माइपोखरी-इलाम), सङ्खुवासभा र तेह्रथुमको लालीगुराँस पदमार्ग (खाँदबारी-लुम्लिङटार-नुम-गुफाफोखरी-वसन्तपुर-तीनजुरे-मिल्के-जलजले) र भोजपुरको मुन्दुम पदमार्ग (तावाभन्ज्याङ-टेम्केडाँडा-हासपोखरी-साल्पापोखरी-सिलिचुङ चुली) निर्माण तथा व्यवस्थित हुन लागेको हो। मुन्दुम पदमार्ग र फाल्गुनन्द पदमार्गमा यसअघि देखि नै आन्तरिक पर्यटक गइरहेका छन्। 

kosi paryatan (1).jpg

२९ वटा पालिकामा निर्माण हुन लागेको चारवटा पदमार्गको लम्बाई ४०० किलोमिटरको हुने बताइएको छ। एकीकृत परियोजनाको लागि स्विस सरकारले १ अर्ब ३५ करोड १५ लाख र संघीय सरकारले १९ करोड ९२ लाख रूपैयाँ लगानी गर्ने भएका छन्। सम्झौताअनुसार कोशी प्रदेश सरकारले ४५ करोड ८७ लाख र २९ वटा स्थानीय तहले ४४ करोड ६७ लाख रूपैयाँ लगानी हुने बताइएको छ।

kosi paryatan (3).jpg

परियोजनाबाट १ लाख स्थानीयले प्रत्यक्षरूपमा लाभ लिने र पदमार्गको निर्माण तथा पुनः निर्माणका क्रममा ४ लाख दिनबराबरको रोजगारी सिर्जना हुने भएको छ। एक हजार जनालाई पर्यटनसम्बन्धी सीप विकासका लागि तालिम दिइने पनि मुख्यमन्त्री कार्कीले बताए। 

प्रदेश विकासको मुख्य आधार पर्यटन रहेको बताउँदै मुख्यमन्त्री कार्कीले चारवटा पदमार्ग पर्यटन क्षेत्रमा गेम चेन्जर परियोजना बन्ने बताए। विश्वलाई चिनाउनका लागि पर्यटन क्षेत्र महत्त्वपूर्ण हुने उनको भनाइ छ। 


प्रकाशित : आइतबार, मंसिर २३ २०८११४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend