काठमाडौं- कैलालीको भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट एक करोड रूपैयाँभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित तीनजना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुनी गाउँपालिका-१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका-१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका-११ का ३२ वर्षीय महेश सुनारलाई गएराति पक्राउ गरिएको हो।
भारतबाट आएका उनीहरूबाट ८० लाख ७९ हजार पाँचसय ६१ रूपैयाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार चारसय ६० रूपैयाँ बराबरको आठ किलो नौसय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार छ सय २५ रूपैयाँ भारतीय मुद्रा, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडा पनि बरामद भएका छन्। रासस