काठमाडौं- सुख, सुविधा र स्तरीय जीवन बाँच्नका लागि मानिसहरु थातथलो छोडेर हिँड्ने गरेका छन्। गाउँबाट सहर, सहरबाट राजधानी र समग्रमा देशबाट विदेशसम्म आप्रवासनमा जानेहरुको संख्या उल्लेख्य रुपमा बढ्दै गइरहेको छ। फड्को मार्ने तहको उपलब्धीका लागि थातथलो छोड्नुपर्ने बुझाइ धेरै छ।
संसारमा धेरै वित्तीय उपलब्ध हासिल गरेका व्यक्तिहरुले पनि बसाइँसराइ नै गरेका पाइएको छ। वर्तमान समयको सबैभन्दा धनी व्यक्त एलन मस्क हुन्। उनी पनि अफ्रिकी मुलुकबाट बसाइँसराइ गरेरै अमेरिका आएका हुन्।
पछिल्लो समय नेपाललगायत विकास हुन नसकेका देशहरुबाट बर्सेनि लाखौँको संख्यामा विकसित देशहरुमा जाने गरेका छन्। त्यस्ता देशहरुले केहीलाई आप्रवासीका रुपमा वैधानिकता दिएर राख्ने पनि गरेको छ। तर अवैधरुपमा जानेहरुको संख्या धेरै भएकाले ती सबैले वैधानिकता पाउन सकेका छैनन्।
संसारको शक्तिशाली देश र विकसित देश भएकाले सबैतिरबाट अमेरिका जाने सपना बोकेकाहरुको संख्या ठूलो भएकाले अमेरिकामा नै धेरै आप्रवासीहरुको बसोबास रहेको छ। धेरै गरिब देशबाट निस्कनेहरुको पहिलो रोजाइमा पनि अमेरिका नै पर्दै आएको छ।
२०२० मा अमेरिकामा ५ करोड ६ लाख आप्रवासीहरु थिए। त्यसमध्ये १ करोड १० लाखभन्दा बढी अवैधरुपमा बसोबस गर्दै आएका छन्। यो कुल आप्रवासीको २२ प्रतिशत हिस्सा हो।
तर हालै राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्प अवैध आप्रवासीप्रति कठोर नीति लिने बताइरहेका छन्। ट्रम्पले २० जनवरी २०२५ बाट अमेरिक राष्ट्रपतिको कार्यभार सम्हाल्दै छन्। ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको २४ घण्टाभित्र सबै अवैध आप्रवासीलाई देश निकाला गर्ने दाबी गरेका छन्।
विश्वको ९ विकसित देशमा कति आप्रवासीहरु कानूनी आधारबिना वा अवैधरुपमा बसोबास गरिरहेका छन् भन्ने बारेमा भिजुअल क्यापिटालिस्टले तथ्यचित्र बनाएको छ। क्यापिटालिस्टले यूएन डीईएसए(२०२०) र आवर वल्र्ड इन डेटाबाट तथ्यांक लिएर समाचार बनाएको हो। संख्याका आधारमा सबैभन्दा धेरै आप्रवासी अमेरिकामा छन् भने त्यसपछि जर्मनीमा रहेका छन्। तर प्रतिशतका आधारमा भने इटाली धेरै अवैध आप्रवासी भएको देश हो।
जर्मनीमा १ करोड ५८ लाख आप्रवासी रहेकोमा ६ लाख ५० हजार अवैधरुपमा बसोबस गर्दै आएका छन्। यो कुल आप्रवासीको ४ प्रतिशत हिस्सा हो। यस्तो छ विकसित देश र त्यहाँ रहेका आप्रवासी तथा कानूनी मान्यता नपाएकाहरुका संख्या :
१. अमेरिका- अमेरिकामा ५ करोड ६ लाख आप्रवासी रहेका छन्। २०२० को तथ्यांकअनुसार अमेरिकामा १ करोड १० लाख आप्रवासीहरु अवैधरुपमा बसोबस गर्दै आएका छन्। यो कुल आप्रवासीको २२ प्रतिशत संख्या हो।
२. इटाली- युरोपेली देश इटालीमा २०२० मा ६४ लाख आप्रवासी रहेका थिए। त्यसमध्ये ४ लाख ५८ हजार आप्रवासी अवैधरुपमा बसोबास गर्दै आएका छन्। यो कुल आप्रवासी संख्याको ७ प्रतिशत हो।
३. बेलायत- बेलायतमा ९४ लाख आप्रवासीहरु रहेका छन्। यसमध्ये ६ लाख ७४ हजार आप्रवासीहरु कानूनी हैसियतमा छैनन्। यो कुल आप्रवासीको संख्याको ७ प्रतिशत हो।
४. स्पेन- स्पेनमा ६८ लाख आप्रवासीहरु बसोबास गरिरहेका छन्। यसमध्ये ४ लाख ३० हजार आप्रवासीहरु अवैधरुपमा बसोबास गरिरहेका छन्। यो कुल आप्रवासी संख्याको ६ प्रतिशत हो।
५. जर्मनी- जर्मनीमा २०२० मा १ करोड ५८ लाख आप्रवासीहरु बसोबास गरिरहेका थिए। त्यसमध्ये ६ लाख ६० लाख आप्रवासीहरु वैधानिक हैसियत छैन। यो कुल आप्रवासीको ४ प्रतिशत हिस्सा हो।
६. क्यानडा- क्यानडामा ८० लाख आप्रवासीहरुले बसोबास गरिरेहको २०२० को तथ्यांक थियो। यसमध्ये २ लाख ६० हजार आप्रवासीहरुको कानूनी आधार छैन। यो कुल आप्रवासी संख्याको ३ प्रतिशत हो।
७. फ्रान्स- फ्रान्समा ८५ लाख आप्रवासीहरुको बसोबास रहेको थियो। यसमध्ये २ लाख ५० हजार आप्रवासीहरु अवैधरुपमा बसोबास गरिरहेका छन्। यो कुल आप्रवासी संख्याको ३ प्रतिशत हो।
८. नेदरल्यान्ड- नेदरल्यान्डमा २०२० मा २४ लाख आप्रवासीहरु थिए। यसमध्ये ४० हजार आप्रवासीहरु अवैधरुपमा बसोबास गरिरहेका छन्। यो कुल आप्रवासीको संख्याको २ प्रतिशत हो।
९. पोल्यान्ड- पोल्यान्डमा ८ लाख १७ हजार आप्रवासीहरु बस्दै आएका छन्। यो संख्यामध्ये १९ हजार आप्रवासीहरु अवैधरुपमा बसोबास गर्दै आएका छन्। यो कुल आप्रवासी संख्याको २ प्रतिशत हिस्सा हो।
अमेरिकामा रहेका १ करोड १० लाख अवैध बसोबार गरिरहेका आप्रवासीहरुलाई त्यहाँबाट डिपोर्ट गर्न ठूला खर्च लाग्ने छ। ट्रम्पले भनेजस्तो सबैलाई डिजोर्ट(देश निकाला) गर्ने हो भने अमेरिकाले करिब ३ अर्ब १५ अर्ब अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ।
अमेरिकी आप्रवासी काउन्सिलका अनुसार एकैपटक त्यति ठूलो संख्यामा मानिसहरुलाई डिपोर्ट गर्दा देशको वित्तीय अवस्थामै ठूलो प्रभाव पर्नेछ। १ करोड १० लाख मानिसलाई एकैपटक निकाला गर्दा अमेरिकाको जीजीपी वार्षिक रुपमा ४.२ प्रतिशतदेखि ६.८ प्रतिशतसम्म ह्रास आउन सक्छ। यो भनेको वार्षिक ११ खर्बदेखि १७ खर्ब डलरसम्म गुम्नु हो।