काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण क्षेत्रलाई गति दिन सरकारले प्राथमिकता दिएको बताएका छन्।
१७औँ राष्ट्रिय निर्माण दिवसका अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले निकालेको प्रभातफेरीको त्रिपुरेश्वरमा उद्घाटनका क्रममा उनले अधुरा योजनाहरुलाई समयमा नै पूरा गराउनु सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए।
निर्माण व्यवसायीलाई दिन बाँकी भुक्तानी केही उपलब्ध गराइएको भन्दै बाँकी रकमसमेत आउँदा साता निकासा हुने उनको भनाइ थियो।
निर्माण क्षेत्रमा देखिने सुस्तताले नागरिक निराश हुने भएकाले सबैतिर उत्साह जगाउने गरी काम गर्न उनले निर्माण व्यवसायीहरुलाई आग्रहसमेत गरे। नीतिगत र कानूनी समस्याका कारण कुनै पनि योजना अवरुद्ध हुन नदिने उनको प्रतिबद्धता थियो।
कार्यक्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले देशलाई समृद्ध बनाउन निर्माण क्षेत्रलाई गति दिन जरुरी रहेको बताए। यसका लागि सरकारले कतिपय नीतिगत र कानूनी व्यवस्थामा सुधार गर्न खाँचो रहेको बताए।
महासंघले निर्माण दिवसको अवसर पारि प्रभातफेरी तथा रक्तदान कार्यक्रमको आयोजना गरेको महासचिव रोशन दाहालले जानकारी दिए।