काठमाडौं- क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ऐतिहासिक बिन्दु पार गरेको छ। विश्व बजारमा बिटक्वाइनको मूल्य १ लाख अमेरिकी डलर नाघेसँगै मूल्यांकनमा एउटा कोशेढुंगा बनाउन सफल भएको छ।
मूल्यमा तीव्र उतारचढाव बेहोर्दै आएको बिटक्वाइनको पछिल्लो महिनामै उच्च वृद्धि देखिएको छ। अमेरिकामा राष्ट्रपतिको चुनावी अभियान चलेदेखि विस्तारै बढ्न थालेको बिटक्वाइनको मूल्य पछिल्लो चार हप्तामै ४५ प्रतिशतले बढेको छ। एक वर्षमा दोबर मूल्य बढेको बिटाक्वाइन अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएपछि झन आकाशिएको छ।
यसैबीच ट्रम्पले अमेरिकाको सेक्युरिटी एक्सचेञ्ज कमिसनमा नियुक्तिको मनोनयन गरेपछि झन् यसको मूल्यांकनमा तीव्र वृद्धि देखिएको छ। रिपब्लिकन सिनेटरमात्र होइन ट्रम्पका कयौँ सहयोगी, एलन मस्कजस्ता साझेदारका रुपमा भित्रएकामात्र होइन ट्रम्प प्रशासनमा मुख्य हिस्सेदार हुने निश्चित भएपछि डिजिटल सम्पत्तिप्रतिको आकर्षण बढेको छ।
ट्रम्पले चुनावी क्याम्पियनमा अमेरिकालाई यो धर्तीको क्रिप्टो क्यापिटल बनाउने घोषणा गरेका थिए। उनको घोषणामात्र होइन जनवरी २० मा सत्ता सम्हाल्नुभन्दा पहिले नै उनले गरेका मनोनयले अमेरिकी प्रशासन क्रिप्टोप्रति सकारात्मक हुने अनुमान गरिएको छ। यही भएर मूल्यांकनमा तीव्र वृद्धि देखिएको सरोकारवालाहरूले बताएका छन्।
क्रिप्टो अहिले नै विश्वभर भुक्तानीको मूलधारमा आउन सम्भव नदेखिएपनि मूलधारको वित्तीय लगानीको उपकरण सावित भएको धेरैले विश्लेषण गरेका छन्। विशेषगरी बिटक्वाइनले थुप्रै उतारचढावमा आफूलाई उत्थानशील सावित गरिसकेको छ। उच्च टाकुरामा पुगेर सतहमा पुगेर फेरि उचाइको यात्रा यसले गरेको छ। थुप्रै हन्डर खेपिसकेको बिटक्वाइनलगायतका क्रिप्टोलाई जोखिमपूर्ण सम्पत्तिका रुपमा व्याख्या गरिँदै आइएको छ।
विशेषगरी अपराधको भुक्तानीको माध्यम बन्ने र मूलधारको वित्तीय संरचनालाई नै सखाप पार्नसक्ने चुनौतिका रूपमा यसलाई हेरिन्छ। संसारका कयौँ देशमा यसलाई लगानीको माध्यमका रुपमा स्वीकार गरिएको छ। भने कति देशले रणनीतिक रुपमा लगानी पनि गरेका छन्।
भारतमा क्रिप्टो लगानीलाई सहजीकरण गरिएको छ भने भुटानले यसमा ठूलो लगानी गरेको छ। उदार अर्थव्यवस्थामा यसलाई बन्देज लगाइएको छैन। तर नेपालमा भने यसलाई कुनै पनि रुपमा यसको कारोबारलाई बन्देज लगाइएको छ।